कम्युनिष्ट र कांग्रेसको ‘वाइप्रोडक्ट’ हो जसपा : प्रभु साह


३ मंसिर २०७७, बुधबार
125901489 697462961184005 255454665266438822 n

महोत्तरी, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पुर्व मन्त्री प्रभु साहले कम्युनिष्ट र काँग्रेस पार्टीको वाईप्रोडक्ट नै जसपा भएको बताएका छन् ।

मंगलबार महोत्तरी जिल्ला मनरा शिसवा नगरपालिका–६, सरपल्लोमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले कम्युनिष्ट र कांग्रेस पार्टीका कमसल ब्यक्तिहरूको झुण्डको रुपमा जसपा निर्माण भएको बताए ।

‘नेकपा र कांग्रेसको वाईप्रोडक्ट जसपा हो । वाईप्रोडक्ट जहिले दुर्गन्ध वा फोहोर मात्र फैलाउने गर्दछ’ नेता साहले भने, ‘प्रदेश २ मा जसपाकै सरकार छ, विकासको नाममा कमिसनको खेल मात्र गर्छ । आज तपाई हामी नाङ्गै आँखाले हेरिरहेका छौ, प्रदेश–२ मा जसपाका कारण हत्या, आतंक, लुट तथा भ्रष्टाचार बढेको छ । आफू केही नगर्ने अरुलाई दोष मात्र देखाउने सरकार भ्रष्टाचारमा डिस्टिङसन मार्क ल्याएको छ ।’

नेता साहले प्रदेश सरकार भ्रष्टाचारमा लिप्त भएको बताउँदै उनीहरुको कारण दुनियाँमा मधेसको इमेज नै खराब भएको बताए । हिजो मधेस गुमनाम थियो तर बदनाम थिएन । आज दुनियाँको अगाडि मधेसको छवि खराब भई मधेस बदनाम भएको छ । कमसल व्यक्तिहरुको झुण्डले गर्दा नै यो स्थिति आएको उनले बताए ।

भ्रमको महल बनाएर खड़ा भएको जसपा अहिले समाज विकासको बाधकको रूपमा खड़ा छ । त्यसैले यस्ता कमसल व्यक्तिबाट सचेत रहन र उनीहरुको पछाडि नलाग्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७