जानकी मेडिकल कलेजका कर्मचारी १८ दिनदेखि आमरण अनशनमा

कलेज व्यवस्थापन, प्रदेश सरकार र स्थानीय प्रशासन मौन


४ मंसिर २०७७, बिहीबार
anasan

जनकपुरधाम, ४ मंसिर । जागिरबाट निकालिएका सहकर्मीको पुनर्बहालीलगायत माग राखी जानकी मेडिकल कलेजका दुई कर्मचारी १८ दिनदेखि आमरण अनशनमा छन् । सुरक्षा व्यवस्थापनतर्फका इन्चार्ज जानकीशरण यादव र पारा मेडिकलतर्फका कुलदीप साहले १६ कात्तिकदेखि कलेज प्रांगणमा आमरण अनशन थालेका थिए ।

उनीहरूको स्वास्थ्य दिनानु दिन खराब हुँदै गएको, तर कलेज प्रशासनले कुनै चासो नदिएको कर्मचारी हकहित संरक्षण समितिका अध्यक्ष उमेश यादवले बताए । ‘हामीले जायज माग अगाडि सारेर आन्दोलन थालेका हौँ,’ उनले भने, ‘प्रदेश सरकार र स्थानीय प्रशासन पनि यसबारे जानकार छन् । तर, यति दिनसम्म कलेज व्यवस्थापन र सरोकारवाला निकाय मौन बसेका छन् ।’

कलेज प्रशासनले ६ कात्तिकमा काममा लापरबाही गरेको आरोप लगाउँदै कर्मचारीहरू उमेश यादव, राजनारायण यादव, जयकुमार यादव, अञ्जु पटेल र वीरेन्द्रकुमार झासँग स्पष्टीकरण सोधेको थियो । तर, भुक्तानी दिन बाँकी दुई महिनाको तलब, ६ वर्षको सञ्चय कोष र ६ वर्षको दसैँ भत्ता उपलब्ध गराउन माग गर्दा कलेज प्रशासनले आफूहरूलाई जागिरबाटै निकालेको उनीहरूको भनाइ छ ।

कलेजका मेडिकल र पारा मेडिकल स्टाफ, सुरक्षा गार्डसहित एक सय १५ जना कर्मचारी १२ असोजदेखि चरणबद्ध आन्दोलनमा छन् । कलेज प्रशासनले भने स्पष्टीकरण सोधिएका पाँचमध्ये दुईजनाले जवाफ दिएको र जवाफ नदिने तीनजनालाई विधानअनुसार कामबाट हटाइएको बताएको छ । स्थानीय कर्मचारीले आफ्नो स्वार्थसिद्धिका लागि अन्य कर्मचारीलाई उचालेर कलेजलाई धरासयी बनाउन खोजेको कलेजका प्रमुख प्रशासक दयानन्द झाले आरोप लगाए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७