ट्यांकरमा च्याम्बर थपेर पेट्रोल चोरी : यसरी समातिए ट्यांकर


५ मंसिर २०७७, शुक्रबार
tyankar2020 11 20 02 12 39

काठमाडौं, ५ मंसिर । इन्धन बोक्ने ट्यांकर चालकहरूले नयाँ शैली अपनाएर पेट्रोल चोरी गर्ने गरेको पत्ता लागेको छ ।

नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटमा पेट्रोल बोकेर आएका दुईवटा ट्यांकरको च्याम्बरभित्र नयाँ सानो ट्यांकी (फल्स च्याम्बर) बनाएर पेट्रोल चोरी गरेको घटना बाहिरिएको हो ।

तीन वर्षअघिदेखि ट्यांकरमा आधुनिक लकिङ सिस्टम जडान गरेयता सजिलै तेल चोरी गर्न नसकेका ट्यांकरचालकले नयाँ विधि अपनाउँदै चोरी जारी राखेका थिए । यसपटक ट्यांकरभित्र नयाँ सानो ट्यांकी (फल्स चेम्बर) बनाई त्यहाँ तेल हालेर चोरी गरेको भेटिएको हो ।

यस्तो सानो ट्यांकी स्थायी रूपमा फिटिङ गरिएको छ । निगमको थानकोट डिपो प्रमुख प्रदीप यादवले दुईवटा ट्यांकरमा आएको पेट्रोल कम रहेको पाएपछि घटनाबारे विस्तृतमा अध्ययन थालिएको बताए ।

‘पेट्रोल लिएर आएको ट्यांकरको परिमाण परीक्षण गर्ने क्रममा दुईवटा ट्यांकरमा कम तेल फेला परेको छ । यसको विस्तृत अध्ययन थालिएको छ,’ उनले भने । इन्डियन आयल कर्पोरेसन (आइओसी) को बरौनी रिफाइनरीबाट २०–२० हजार लिटर पेट्रोल बोकेर आएको ना७ख ३६९६ र ना ७ ख २९९५ नम्बरको ट्यांकरमा कम तेल पाइएको हो ।

निगमको थानकोट डिपोमा कार्यरत वरिष्ठ सहायक कपिल भट्टका अनुसार बुधबार साँझ तेल लिएर आएका ट्यांकरको डिप रडले परिमाण परीक्षण गर्दा दुवै ट्यांकरमा ९ सयदेखि ९ सय ५० लिटर कम पेट्रोल भेटिएको थियो ।

डिपोबाट खबर आएपछि बिहीबार दिउँसो प्रधान कार्यालयबाट निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसहितका प्राविधिक कर्मचारी र गुणस्तर तथा नापतौल विभागबाट महानिर्देशक विश्वबाबु पुडासैनीसहितका कर्मचारीले थानकोट पुगेर ट्यांकरको परीक्षण गरेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए । सो क्रममा दुवै ट्यांकरको ३ र ४ नम्बर च्याम्बरको बीचभागमा नयाँ सानो ट्यांकी बनाएर तेल राख्ने गरेको भेटिएको हो । त्यसमै तेल लुकाएर चोरी गरिएको निगमले जनाएको छ ।

तेल चोरी गरे पनि ताल्चा र आधुनिक लकिङको सबै फिटिङ दुरुस्तै रहेको छ । ट्यांकरभित्र कृत्रिम ट्यांकी बनाई तेल लुकाउने र त्यसरी लुकाएको तेल बिक्री गरी निगमलाई आर्थिक नोक्सानीमा पुर्‍याउने काम चालकहरूले मात्र आँट्न सक्दैनन् ।

यसमा ट्यांकर साहुहरूको समेत संलग्नताको आशंका गरिएको छ । आयल निगमले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी दुवै ट्यांकर वीरबेताल आशीर्वाद कम्पनी प्रालिको रहेको जानकारी दिएको छ । कम्पनीका सञ्चालक प्रज्वलराज भट्ट, दीपेन्द्रबहादुर बम र सदेन व्यञ्जनकार हुन् । ट्यांकर सञ्चालकहरूलाई करिब १५ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको निगम प्रवक्ता उपाध्यायले बताए । कम तेल ल्याएको पुष्टि हुनासाथ ट्यांकरचालकहरू भने बुधबार साँझदेखि नै सम्पर्कविहीन छन् ।

ट्यांकरको ढुवानी सम्झौता खारेजदेखि जेल सजायसम्मको कारबाही हुन सक्ने

ट्यांकरभित्रै नयाँ ट्यांकी बनाई तेल चोरी गर्ने चालकलाई कडा कारबाही गर्ने तयारीमा नियामक निकाय छ । चेम्बरभित्र पार्टेसन गरी एक पटकमा करिब १ हजार लिटर पेट्रोल चोरी गर्दा निगमलाई एक पटकमा करिब १ लाख रुपैयाँको नोक्सान हुन्छ । दुवै ट्यांकरले अहिलेसम्म चेम्बरभित्र पार्टेसन गरी करिब १५ लाख रुपैयाँको तेल चोरी गरेको अनुमान छ । ट्यांकर साहु र चालकलाई तत्काल १५ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको छ ।

ट्यांकरमा तेल ओसार्नका लागि निगमले सम्झौता गर्दा ट्यांकरको ढाँचामा परिवर्तन गर्न नपाइने, तोकिएभन्दा कम वा बढी परिमाण ढुवानी गर्न नपाइने सर्त राखिएको छ । यस्तो सर्त उल्लंघन गर्नेलाई सम्झौता खारेज गर्नेसम्मको व्यवस्था भएको प्रवक्ता उपाध्यायले बताए । ‘ट्यांकरसँग इन्धन ढुवानी सम्झौता गर्दा यस्तो बदनियत गरे सम्झौता खारेजी गर्नेसम्मको व्यवस्था गरिएको छ । ‘हामीले त्यही व्यवस्थाअनुसार कडाभन्दा कडा कारबाही गर्नेछौँ,’ उनले भने ।

निगमले बिहीबार नै गुणस्तर तथा नापतौल विभागलाई पनि आवश्यक कारबाहीका लागि पत्राचार गरेको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ट्यांकरभित्र नयाँ ट्यांकी बनाई तेल चोरी गर्नेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको बताए । ‘यही व्यवस्थाअनुसार हामी चालक, सहचालक र ट्यांकर साहुलाई कारबाहीको निर्णय गर्नेछौँ,’ उनले भने ।

यसरी समातिए ट्यांकर

आयल निगमले गत भदौदेखि देशभरका डिपोमा तेल लिएर आउने ट्यांकरको गुणस्तर र परिमाण परीक्षणमा कडाइ गरिएको छ । आइओसीको डिपोबाट तेल ल्याउने ट्यांकरले के–कसरी अपचलन गर्छन् भन्ने कुराको जानकारी लिन निगमले सुराकीसमेत परिचालन गर्न थालेको छ ।

त्यसै क्रममा ना ७ ख ३६९६ र ना ७ ख २९९५ नम्बरको ट्यांकरले च्याम्बरभित्र नयाँ ट्यांकी बनाई तेल अपचलन गर्दै आएकाले निगरानी राख्न थानकोट डिपोलाई केही दिनअघि सूचना आएको थियो ।

सो सूचनापछि दुवै ट्यांकरले तेल बोकेर आउने दिन कुरेर डिपोका कर्मचारी बसेका थिए । बुधबार साँझ दुवै ट्यांकर तेल लिएर आएपछि कर्मचारीले सधैँजस्तै डिप रडले नापेर तेलको परिमाण परीक्षण गरे । सो क्रममा ट्यांकरभित्र तोकिएकै परिमाणमा तेल रहेको पाइयो । त्यसपछि सुराकीले दिएको जानकारीअनुसार ट्यांकरको खानतलासी गर्दा दुवै ट्यांकरको ३ नम्बर च्याम्बरभित्र पार्टेसन गरी नयाँ ट्यांकी बनाएको भेटिएको हो ।

ट्यांकरमा स्टिल पार्टेसन गरी ढाँचा नै परिवर्तन गराई तेल चोरी गरेको घटनाबारे जानकारी पाएपछि गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी कर्मचारी लिएर आफैँ बिहीबार दिउँसो थानकोट डिपो पुगेका थिए । पुडासैनीका अनुसार ३ नम्बर च्याम्बरको भाग कम हुने गरी त्यहाँ स्टिलको पार्टेसन गरी करिब एक हजार लिटर क्षमताको नयाँ ट्यांकी बनाइएको फेला परेको छ ।

‘चार हजार लिटरको च्याम्बरमा पार्टेसन गरी नयाँ ट्यांकी बनाइएको छ । जहाँ करिब एक हजार लिटर पेट्रोल अटाउन सकिने देखिन्छ,’ पुडासैनीले भने । आयल निगमले तेलको परिमाण डिप रडले नाप्ने भएकाले त्यसकै फाइदा उठाई चालकहरूले नयाँ ट्यांकी थपेर तेल अपचलन गर्ने उपाय निकालेका हुन् । ‘चेम्बरभित्र वेल्डिङ नै गरेर स्थायी ट्यांकी बनाइएको छ । त्यहाँ तेल राखेको वा नराखेको डिप रडले नापेर पत्ता लाग्दैन,’ पुडासैनीले भने ।

ट्यांकरमा रहेको प्रत्येक चेम्बरको ढकनबाट डिप रड घुसाई पिँधसम्म लगेर तेल नाप्ने गरिएको छ । यस्तो नाप प्रणालीले च्याम्बरको सबै भागमा डिप रडले छुँदैन । बीचभागमा डिप रड घुसाएर लिएका नापका आधारमै तेलको परिमाण गणना गर्ने निगमको पुरानो शैली अहिलेसम्म कायम छ । जसकारण तेल चोर्न चालक र कर्मचारीलाई धेरै सजिलो छ ।

समातिएका दुवै ट्यांकरमा ४ हजार लिटर क्षमताका ५–५ वटा चेम्बर छन् । चालकहरूले ४–४ हजार लिटर तेल अटाउने चेम्बरको बीचभागमा करिब एक हजार लिटर तेल अटाउने अर्को चेम्बर बनाई चोरी गरेका हुन् । उक्त चेम्बरमा राखिएको तेल चालकहरूले भारततर्फ नै बेचेर आउने गरेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७