फिरौती असुलेर किशोरको हत्या गरेका अभियुक्त आठ वर्षपछि पक्राउ


५ मंसिर २०७७, शुक्रबार
pakrau
फाइल फोटो

महोत्तरी, ५ मंसिर । महोत्तरीमा एक युवकको घाँटी रेटी हत्या गरेका अभियुक्तलाई प्रहरीले आठ वर्षपछि पक्राउ गरेको छ ।

४ चैत ०६९ मा सोनमा गाउँपालिका–८ का २२ वर्षीय पंकज यादवको अपहरण गरी फिरौती रकम लिएपछि हत्या गरिएको थियो । हत्यामा संलग्न एकडारा गाउँपालिका–३ भटौलियाका जिवछ अन्सारीलाई प्रहरीले जलेश्वर नगरपालिका–३ मलिवारा (भिठामोड)स्थित भारत सीमाबाट पक्राउ गरेको हो । उनलाई बुधबार राति विशेष सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

त्यतिवेला कक्षा १२ अध्ययनरत पंकजलाई ६ जनाले अपहरण गरेका थिए । उनका बाबु श्याम राय यादवबाट सात लाख रुपैयाँ फिरौती असुलेका थिए । त्यसपछि पंकजलाई लागूपदार्थ खुवाएर घाँटी रेटी हत्या गरेका थिए । हत्यामा संलग्न दुई जना त्यतिवेलै पक्राउ परेका थिए भने जिवछसहिच चार जना फरार थिए । तीन जना अझै फरार छन् ।

जिल्ला अदालत, महोत्तरीले अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा उनलाई दोषी ठहर गरेको थियो । ज्यानसम्बन्धी मुद्दा मुल्तबीमा राखिएको थियो भने अपहरण तथा शरीर बन्धक मुद्दामा १७ वर्ष कैद र दुई लाख ७५ हजार जरिवाना तोकिएको थियो । उनलाई अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय काट्न जिल्ला कारागार पठाउने तयारी छ । कर्तव्य ज्यान मुद्दामा अब सुनुवाइ हुने भएको छ ।

पंकजको हत्यामा संलग्न जिवछसहित ६ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो । तीमध्ये धनुषा भरतपुरका कुशेश्वर ठाकुर र महेन्द्रनगरका कृष्णकुमार पूर्वेलाई पक्राउ गरेर अदालतमा पेस गरिएको थियो ।

अदालते १८ जेठ ०७२ मा कुशेश्वरलाई कर्तव्य ज्यान र अपहरण मुद्दामा १२–१२ वर्ष कैद र दुई लाख ३८ हजार दुई सय ८५ रुपैयाँ जरिवाना तोकेको थियो । यस्तै, कृष्णलाई कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद तथा अपहरण र शरीर बन्धक मुद्दामा थप १७ वर्ष कैद तथा दुई लाख ७५ हजार जरिवाना तोकेको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७