महासंघको निर्वाचनमा ७४ पदका लागि १२७ जनाबीच प्रतिस्पर्धा

ढकाल प्यानलका दुई जना निर्विरोध निर्वाचित


५ मंसिर २०७७, शुक्रबार
ubasangh

काठमाडौं, ५ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्य समितिका लागि तय गरिएको साधारणसभा तथा निर्वाचन शुरु नहुँदै दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने अन्तिम दिन आज कसैको उम्मेदवारी नपरेपछि केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एशोसियटतर्फका सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित दुवै केन्द्रीय सदस्य वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्रप्रसाद ढकाल प्यानलका हुन् ।

यसअघि मोरङ व्यापार सङ्घको कार्यकारी सदस्य समेत रहेका राउत अहिले नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश–१ का उपाध्यक्ष समेत हुन् । त्यस्तै अर्का निर्विरोध निर्वाचित अग्रवाल नेपाल इन्डोनेशिया च्याम्बर अफ कमर्शका अध्यक्ष हुन् । अग्रवाल एशोसिएटतर्फबाट च्याम्बर अन्तर्गत निर्विरोध भएको महासंघले जनाएको छ ।

मंसिर ११ देखि १३ सम्म हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा ७४ पदका लागि १२७ जनाबीच प्रतिष्पर्धा हुने जनाइएको छ ।

उम्मेदवारको पहिलो नामावली बिहीबार साँझ प्रकाशन गर्दा १२७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार दुई वटा पदमा आवश्यक संख्यामा मात्र उम्मेदवारी परेको छ । जसले गर्दा दुवै जना निर्विरोध भएका हुन् ।

प्रत्येक प्रदेशबाट एक–एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । जसअनुसार प्रदेश १ बाट मोरङ व्यापार संघका राजेन्द्र राउत निर्विरोध भएका हुन् । तर निर्वाचन समितिले भने निर्विरोध भएको घोषणा गरिसकेको छैन ।

‘उक्त पदका लागि एउटा मात्र उम्मेदवारी परेको छ,’ निर्वाचन अधिकृत लीलामणि पौडेलले भने । ढकाल र किशोर प्रधानले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार दाबी विरोध उजुरीको समय पनि राखिएको छ ।

दाबी विरोध परेर निर्णय गरेपछिको उम्मेदवारको अन्तिम नामावली शुक्रबार साँझ प्रकाशन गरिनेछ । त्यसपछि उम्मेदवारी फिर्ता लिने समय दिइनेछ । ‘सबै प्रक्रिया पूरा भएपछि अन्तिम नामावली प्रकाशन गरिनेछ,’ पौडेलले भने ।

त्यस्तै निर्वाचन समितिले मतदान गर्न पाउने सदस्यहरूको नामावली प्रकाशन गरिसकेको छ । मतदान गर्न पाउनेमा जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ १०७, वस्तुगत समूहतर्फ १०१ र द्विराष्ट्रिय उद्योग वाणिज्य संघ समूहमा १२ वटा मताधिकार छन् । एसोसिएट समूहतर्फ ९२३ छन् । उम्मेदवारको अन्तिम नामावली भने मंसिर ८ गते प्रकाशन गरिनेछ । समितिका अनुसार निर्वाचन मंसिर १३ मा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७