३० वर्षमै विद्यावारिधि


५ मंसिर २०७७, शुक्रबार
Dr.Resham Thapa

बागलुङ, ५ मंसिर । हरेक विद्यार्थीको चाह हुन्छ, भरसक धेरै पढ्ने तर परिस्थिति सोचेझैं नहुन सक्छ । कसैको पढाइमा आर्थिक कारण बाधक बन्छ । कतिलाई जागिरले अल्मल्याउँछ । कोही आफ्नै अक्षमता र कमजोरीले पढाइमा असफल बन्छन् ।

गलकोट नगरपालिका–७ मल्मका ३० वर्षीय रेशम थापाले भने पढाइलाई लिएर कहिल्यै पछाडि फर्कनु परेन । सानैदेखि पढाइमा तेज थापाले सफलताका लागि जति मेहेनत र जाँगर चलाए, उसैगरी परिवारले आड र ढाडस दियो । वातावरण बनाइदियो ।

गाउँकै जनहित माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका थापालाई उच्च शिक्षा अध्ययनको हुटहुटीले बुटवल, भारतको तामिलनाडु, अमेरिकाको नर्थ ड्याकोटा हुँदै मेरिल्याण्ड राज्यसम्म डोहोर्‍यायो । उनले जनहित माविपछि कक्षा ५ सम्म मल्मकै न्यूस्टेप इङ्लिस बोर्डिङ स्कूलमा पढेका थिए ।

द्वन्द्वको प्रभावले गाउँको बोर्डिङ बन्द भएपछि परिवारले जेठोबुबा चन्द्रबहादुरसँग बसेर पढ्न उनलाई बुटवल पठाए । सन् २००६ मा बुटवलको क्यानन इङ्गलिस बोर्डिङ स्कूलबाट प्रवेशिका परीक्षा दिएका थापाले बुटवलकै गोलोरियस क्लेजबाट कक्षा १२ को अध्ययन पूरा गरे । त्यसपछि उनले स्नातकमा कृषि विज्ञान पढ्नका लागि भारत सरकारबाट छात्रवृत्ति पाए ।

भारतको ‘तामिलनाडु कृषि विश्वविद्यालय’ मा कृषि विज्ञानमा स्नातक सकेर सन् २०१३ मा थापा नेपाल फर्किए । नेपाल आएपछि उनले कृषिमै स्नातकोत्तर अध्ययनका लागि अमेरिका जाने सोच बनाए ।

सन् २०१४ मा थापा पढ्नकै लागि अमेरिका पुगे । दुई वर्षपछि ‘नर्थ ड्याकोटा स्टेट युनिभर्ससिटी’बाट माटो विज्ञानमा स्नातकोत्तर हासिल गरे । सन् २०१६ मै विद्यावारिधिका लागि उनले ‘युनिभर्ससिटी अफ म्यारील्याण्ड’ मा बाली विज्ञान पढ्न थाले ।

चार वर्षसम्मको पढाइ र शोधपछि थापाले हालै सो युनिभर्ससिटीको डिपार्टमेन्ट अफ प्लान्ट्स साइन्स एण्ड ल्याण्डस्केप आर्किटेक्चरबाट विद्यावारिधिको उपाधि हासिल गरेका हुन् । आउँदो डिसेम्बर २२ मा उनी विश्वविद्यालयबाट दीक्षित समेत हुँदैछन् ।

थापाले ‘मोडलिङ डिकम्जोजिसन एण्ड नाइट्रोजन रिलिज फ्रम सरफेस कभर क्रप रेसिड्यु इन नो–टिल सिस्टम इन द मिड एटलान्टिक एण्ड साउथइष्टर्न युएसए’ विषयमा शोध गरेका हुन् । छोप्ने बाली (कभर क्रप) ले कहिले र कति मात्रामा माटोमा नाइट्रोजन बढाउँछ भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको उनको भनाइ छ ।

वर्षको एक बाली मात्र खेती हुने ठाउँमा जमिन बाँझै नरहोस् र माटोको उर्बरा शक्ति ननासियोस् भनेर छोप्ने बाली लगाउने गरिन्छ । त्यस्तो बालीले माटोमा जैविक पदार्थ बढाउने गर्छ । विभिन्न बिरुवा मिसाएर छोप्ने बाली लगाइन्छ । अनुसन्धानले कृषि क्षेत्रको विकासमा नयाँ आयाम थप्ने थापाको विश्वास छ ।

विद्यावारिधिपछि पनि उनी विद्या वाचस्पति (पोस्ट डक) का लागि अनुसन्धानमा सक्रिय छन् । ‘विद्यावारिधि गर्छु भन्ने त यसअघि सोचेकै थिइनँ, पढ्दै जाँदा बाटो खुल्दै गयो’, उनले भने, ‘अहिले पढाइ मात्र सकिएको छ, व्यावहारिक ज्ञान लिन त बाँकी नै छ ।’ थापाले नेपालमा कृषि विज्ञानको पढाइ हुन्छ भनेर भारत गएपछि मात्र थाहा पाएको उल्लेख गरे ।

बीचमा अरुथोक नसोची लगातार पढाइमा लागेकाले विद्यावारिधिको अध्ययन छिट्टै पूरा भएको थापाको भनाइ छ । ‘पछि कुनै परियोजना हुन्छ या अनुसन्धानमार्फत जन्मभूमि नेपालको कृषि क्षेत्रलाई योगदान गर्ने सोच छ’, थापाले सुनाए । पढाइमा निरन्तरको लगावले थापाले कम उमेरमै सफलता पाएको उनका दाजु दिनेशले बताए ।

‘भाइ सानैदेखि पढाइमा अब्बल थियो, शुरुदेखि अहिलेसम्मै छात्रवृत्तिमा पढ्न पायो’, दिनेशले भने । भाइले आफूले आर्जेको ज्ञान, सीप र दक्षता देशका लागि खर्चने योजना सुनाउने गरेको दिनेशले बताए । थापाका बुबा हिराबहादुर शिक्षण पेशा र आमा थुमकली सामाजिक क्रियाकलापमा सक्रिय छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७