नेकपा ‘युद्धबिराम’ : अध्यक्ष प्रचण्डसँग महासचिव पौडेल र पोखरेलको छलफल


५ मंसिर २०७७, शुक्रबार
prachanda bishnu ishwor

काठमाडौं, ५ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद निर्णायक मोडमा धकेलिइरहेका बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल र उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच आज (शुक्रबार) छलफल भएको छ ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन लेखनका लागि मागेको १० दिनको खाली समयका बीच अध्यक्ष प्रचण्ड, पौडेल र पोखरेलबीच आज पार्टी मुख्यालय धुम्बाराहीमा पार्टी विवादका विषयमा छलफल भएको हो ।

कात्तिक २८ गतेको पार्टी सचिवालय बैठकमा प्रचण्डले पेस गरेको १९ पृष्ठ लामो प्रस्तावबाट आक्रोशित प्रधानमन्त्री ओलीले त्यसको जवाफस्वरुप मंसिर १३ गते बस्ने बैठकमा आफ्नो तर्फबाट प्रस्ताव ल्याउने बताएपछि नेकपाभित्रको राजनीति तनावपूर्ण बनेको छ । प्रचण्डको राजनीतिक प्रस्तावको जवाफ दिन भन्दै ओलीले १० दिनको समय माग गरेपछि ओली र प्रचण्ड–माधव नेपाल समूह ‘युद्धविराम’ को अवस्थामा छन् ।

दुई अध्यक्षबीच छलफलको वातावरण नभएको र यसको विकल्पमा दोस्रो तहका नेताहरुले समन्वयको भूमिका निर्वाह गर्न नेताहरुले सुझाव दिएपछि प्रचण्ड, पौडेल र पोखरेलबीच छलफल भएको स्रोतले जानकारी दिएको छ ।

नेकपाको नौ सदस्यीय सचिवालयमा पाँच जना नेता प्रचण्डको नेतृत्वमा एकजुट हुँदा उपप्रधानमन्त्री पोखरेल र अर्थमन्त्री समेत रहेका महासचिवल पौडेलले ओलीलाई साथ दिइरहेका छन् ।

अहिले प्रधानमन्त्री ओलीले प्रचण्डको राजनीतिक प्रस्ताव आफूलाई लाञ्छना लगाउनका लागि ल्याइएको बताउँदै यसको एक एक जवाफ दिने बताइरहेका छन् । उनले आरोप पुष्टि हुन नसके प्रचण्डले पदबाट राजीनामा दिनु पर्ने बताइरहेका छन् । नेकपाको सचिवालय वैठक मंसिर १३ गतेका लागि बोलाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७