स्थानीय तहमा ३९६ आधारभूत अस्पताल बन्ने, ५८ अर्ब स्रोत सुनिश्चित


५ मंसिर २०७७, शुक्रबार
aartha mantralaya

काठमाडौं, ५ मंसिर । अर्थ मन्त्रालयले स्थानीय तहमा ३९६ वटा आधारभूत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चत गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कार्यका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएका हुन् ।

अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले ५, १० र १५ शैंयाका आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरेको जानकारी दिए ।

यसरी कायम हुने रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी स्थानीय तहमा ससर्त अनुदानका रुपमा उपलब्ध गराइनेछ । अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि यसअघि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ स्थानीय तहमा पठाइसकेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा एक महिनाअघि भएको बैठकले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रमअनुसार यही मंसिर १५ गते भवन निर्णाणको शिलान्यास गर्ने निर्णय गरेको थियो ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैंयासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७