प्रचण्डले सुवास नेम्वाङलाई भने, ‘एकताको डोरी चुँडिहालेको छैन’


५ मंसिर २०७७, शुक्रबार
prachanda Newamang final 2

काठमाडौं, ५ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच संवादहिनता बढिरहेका बेला ओली निकट नेताहरुले प्रचण्डसँगको छलफललाई बाक्लो बनाएका छन् ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीभित्रको विकसित राजनीतिक घट्नाक्रमका बारेमा आज (शुक्रबार) पार्टी मुख्यालय धुम्वाराहीमा अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् ।
नेता नेम्वाङसँगको छलफलमा अध्यक्ष प्रचण्डले पार्टीभित्र बढी नै समस्या रहेको भए पनि पार्टी एकताको डोरी चुँडिनसकेको बताएका छन् । उनले पार्टी एकताको डोरी नचुँडिएको र आफू एकता जोगाउने पक्षमै रहेको स्पष्ट पारेका थिए ।

छलफलमा नेता नेम्वाङले पार्टी एकता जोगाउन पहल लिन प्रचण्डसँग आग्रह गरेका थिए । नेता नेम्वाङले भने, ‘अध्यक्ष प्रचण्डसँगको भेट सकारात्मक भएको छ, उहाँले प्रष्ट भाषामा एकता जोगाउन तयार रहेको बताउनु भएको छ ।’

नेम्वाङले भदौ २६ को स्थायी कमिटी बैठकको निर्णयकै जगमा दुवै अध्यक्ष उभिनुपर्ने बताएका थिए । ‘तपाईंहरु दुवै (दुई अध्यक्ष) को सहमतिमा कार्यदल हुँदै स्थायी कमिटीबाट निर्णय भएको छ, त्यही सहमतिको आधारमा अगाडि बढौं’, नेम्वाङको प्रस्ताव थियो । संसदीय र स्थानीय निर्वाचन नजिक आइरहेको, र विभाजित भएर जनतासम्म जान नसकिने पनि नेम्वाङले बताएका थिए ।

प्रचण्डले शुक्रबार नै महासचिव विष्णुप्रसाद पौडेलसँग पनि धुम्वाराहीमै भेटवार्ता गरेका थिए । पौडेलले पनि अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवादमार्फत् पार्टी विवाद हल गर्ने भूमिका खेल्न प्रचण्डसँग आग्रह गरेका थिए ।

कात्तिक २५ मा केहीबेर ओली–प्रचण्डबीच बालुवाटारमा कुराकानी भएको थियो । त्यसपछि दुई अध्यक्षबीच संवाद टुटेको छ । कात्तिक २८ र मंसिर ३ मा सचिवालय बैठकमा भेट भए पनि अनौपचारिक भेटवार्ता रोकिएको छ ।

दुई अध्यक्ष बीच विवाद बढ्दै जाँदा प्रचण्डले सचिवालय बैठकमा छुट्टै प्रतिवेदन पेश गरेका छन् भने आउँदो मंसिर १३ हुने बैठकमा ओलीले छुट्टै प्रतिवेदन पेश गर्ने बताएका छन् । प्रचण्डले आफूलाई निकृष्ट आरोप लगाएका कारण सहन नसक्ने भन्दै ती आरोपको एक–एक जवाफ दिने बताएका छन् । उनले प्रचण्डले लगाएका आरोप पुष्टि नभए पदबाट राजीनामा दिनु पर्ने समेत बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७