नेकपामा दुर्घटना रोक्ने विकल्पको खोजी


६ मंसिर २०७७, शनिबार
prachanda Newamang final 2

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अलग–अलग राजनीतिक प्रस्तावमाथि संस्थागत छलफल निश्चित देखिएपछि पार्टी विभाजनको सम्भावित दुर्घटना रोक्न नेकपामा विकल्पको खोजी सुरु भएको छ ।

महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले शुक्रबार कार्यकारी अध्यक्ष प्रचण्डलाई भेटेर विभाजनको सम्भावित दुर्घटना रोक्ने विकल्प पहिल्याउन ध्यानाकर्षण गराएका छन् । तर, दश दिन बैठक पछाडि धकेलेर नेकपाका दुवै समूह शक्ति सञ्चयमा जुटिसकेका छन् ।

गत बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री ओलीको तर्फबाट प्रस्तुत हुने जवाफी प्रतिवेदन र यसअघि प्रचण्डका तर्फबाट प्रस्तुत राजनीतिक प्रस्तावमाथि १३ मंंसिरमा छलफल गर्ने निर्णय गरेको थियो ।

तर, पौडेल र नेम्वाङले सचिवालय बैठकले दुवै अध्यक्षको प्रस्ताव फिर्ता लिएर संयुक्त प्रस्ताव नबनाइए पार्टी विभाजन रोक्न कठिन हुने भन्दै प्रचण्डको ध्यानाकर्षण गराएका छन् । पार्टी कार्यालय, धुम्बाराहीमा पौडेल र नेम्वाङले प्रचण्डसँग अलग–अलग एक घन्टा भेटवार्ता गरेका थिए ।

‘अहिले पार्टीका ९९ प्रतिशत नेता–कार्यकर्तापंक्ति विभाजनको विरुद्ध उभिएका छन्, यो भावनालाई कदर गर्न तपाईंले आफ्नो प्रस्ताव फिर्ता लिएर संयुक्त प्रस्तावका लागि तयार हुनुपर्छ,’ प्रचण्ड समक्ष महासचिव पौडेलले राखेको प्रस्ताव उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘त्यसो गर्न सकिएन भने पार्टीलाई गम्भीर दुर्घटनाबाट रोक्न सकिँदैन, त्यसैले पार्टी एकता र विधानको स्पिरिटअनुसार अघि बढेर एकता कायम राख्न तपाईंले गम्भीर बनेर पहल लिनुस् ।’

जवाफमा प्रचण्डले भने प्रधानमन्त्री ओलीको अहंता, पार्टीका हरेक निर्णयलाई चुनौती दिने कार्यशैलीका कारण गम्भीर परिस्थिति आएको बताएका थिए । उनले पौडेलको प्रस्तावबारे कुनै ठोस जवाफ नदिए पनि सचिवालयका अन्य नेताहरूसँग पार्टी एकता जोगाउने विषयमा केन्द्रित रहेर थप छलफल गर्ने जानकारी गराएका थिए ।

‘अहिले जुन स्तरको संकट देखिएको छ, त्यो प्रधानमन्त्रीको अहंताकै कारण सिर्जना भएको हो, त्यसैले उठेका सबै विषय सम्बोधन गरेर पार्टी एकता जोगाउन उहाँ नै सबैभन्दा बढी जिम्मेवार हुनुपर्छ,’ प्रचण्डको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर, तपाईंको प्रस्तावबारे साथीहरूसँग पनि छलफल गर्छु ।’

पौडेललगत्तै संसदीय दलका उपनेता नेम्वाङले प्रचण्डसँग करिब एक घन्टा बेग्लै भेटवार्ता गरेको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । ‘भेटवार्ताको विषयबारे औपचारिक जानकारी त छैन, तर उहाँहरूबीच पार्टीको पछिल्लो परिस्थितिकै बारेमा छलफल भएको हुनुपर्छ,’ ढकालले भने ।

नेता नेम्वाङलेसचिवालय बैठक माग गर्दै बुझाइएको अनुरोधपत्र, कार्यकारी अध्यक्षका तर्फबाट प्रस्तुत एकतर्फी प्रतिवेदन, प्रधानमन्त्री ओलीको सन्देश र विवाद समाधानको विकल्पमा छलफल भएको जानकारी दिए ।

नेम्वाङले अध्यक्षको हैसियत बिर्सिएर हस्ताक्षरसहित बैठक माग गर्दै निवेदन बुझाउने, अर्को अध्यक्षलाई आरोप लगाएर अलग्गै हस्ताक्षरसहितको बेग्लै दस्ताबेज लेख्ने कामले पार्टी एकता कमजोर बनाएको बताएका थिए । उनले अबको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको जवाफ आएपछि स्थायी कमिटीको पछिल्लो निर्णय कार्यान्वयन गर्दै पार्टीलाई एकताबद्ध बनाउनुको विकल्प नभएको भन्दै कार्यकारी अध्यक्षको ध्यानाकर्षण गराएको बताए ।

कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयका बहुमत नेताहरूको समर्थनमा गत २८ कात्तिकमा राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावमा उनले कोभिड– १९ को नियन्त्रणका लागि खरिद स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता, यती होल्डिङ्स कम्पनीसँगको सरकारको साँठगाँठलगायत भ्रष्टाचारजन्य क्रियाकलापको छानबिनको माग गर्दै प्रधानमन्त्री ओलीले मुलुकका लागि त्याग गर्नुपर्ने वेला आएको भन्दै कूटनीतिक भाषामा राजीनामा माग गरिएको छ ।

प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावलाई अभियोगपत्रको संज्ञा दिँदै ३ मंसिरको बैठकमा दश दिनपछि बस्ने सचिवालय बैठकमा बेग्लै प्रतिवेदनमार्फत एक–एक जवाफ दिने बताएका थिए । उनले आरोप प्रमाणित भए प्रधानमन्त्री र अध्यक्ष दुवै जिम्मेवारीबाट राजीनामा दिन आफू तयार भएकाले प्रमाणित नभएको खण्डमा प्रचण्ड पनि कार्यकारी अध्यक्षको जिम्मेवारीबाट हट्न तयार हुनुपर्ने चुनौती दिएका थिए ।

‘मैले अस्ति दुईजना कमरेडहरूलाई बोलाएर कुरा गरेँ, वामदेवजीसँग कुराकानी गरेंर भनें कि यसको छिनोफानो नभईकन, यी आरोपहरूसहित, यी आरोप बोकीबोकीकन कोही पनि मानिस अध्यक्ष वा प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न त मिल्दैन । यी आरोपहरू या त त्यसबाट बदर हुनुपर्‍यो, तब प्रधानमन्त्री र अध्यक्षको जिम्मेवारीमा बस्न मिल्छ ।

त्यसो होइन भने सदर हुनुपर्‍यो र ती पदहरू र ती जिम्मेवारीबाट हट्नुपर्‍यो,’ ओलीले पछिल्लो सचिवालय बैठकमा भनेका थिए, ‘यो आरोप या त सदर ठहरिनुपर्‍यो, अनि प्रधानमन्त्री र अध्यक्ष हट्नुपर्‍यो । यो आरोप सही ठहरिँदैन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनुपर्‍यो, यसको जवाफदेही लिनुपर्‍यो ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७