नेकपा बचाउने २ उपाय


प्रकाशित मिति : November 21, 2020

काठमाडौं, ६ मंसिर । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकको ‘ब’ सम्म सुन्न इच्छुक थिएनन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल र अन्य केही नेता ‘बैठक बसाएरै छाड्ने’ ढिपीमा थिए । प्रधानमन्त्रीलाई शुभेच्छुकहरूले सुझाव दिए, ‘भाग्नुभन्दा भिड्नु जाति ।’ र, सम्भव भयो– गएको सचिवालय बैठक। नत्र त्यो नै ढिक्को–नेकपाको अन्तिम दिन हुन सक्थ्यो ।

त्यही बैठकमा महासचिव विष्णु पौडेलले एक फरक प्रस्ताव ल्याए, ‘नेकपा सचिवालय जसरी चलिरहेको छ, त्यो चलाइ हेर्दा हामीले गरिरहेको क्रान्तिको अन्तिम योद्धा हामी नै हुने लगभग पक्का देखिएको छ ।

कुनै निकास दिन नसक्ने तर झगडाको बिउ निकालिरहने काम यही सचिवालयले गरिरहेको छ । त्यसैले यसको संरचनै भंग गरौं ।’ त्यसयता उनी सार्वजनिक रूपमा यही मत राख्दै आएका छन् । नेकपाका अधिकांश मध्यमार्गी एवं पार्टी एकता जीवित राख्न चाहने नेताहरूले यसमा सहमतिपूर्ण ऐक्यबद्धता जनाउँदै गएका छन् ।

यही मेसोमा नेता जनार्दन शर्माले रुकुमबाट ट्विट गरे, ‘सचिवालयमा पार्टीका आम कार्यकर्ताको भावना हिजो पहिलोपटक व्यक्त भयो । महासचिव कमरेडलाई धन्यवाद ! बाँकी सबै सत्य संस्थागत रूपमा बोल्न जरुरी छ । अब ढुंगामाथि पानी पर्‍यो, रुझ्यो मात्र भिजेन ‘ सँग कुरा गर्‍यो, सुन्यो मात्र बुझेन‘ को अवस्था अन्त्य हुनेछ ।’

शर्माको ढुंगामाथि पानी परेको प्रसंग कता लक्ष्यित छ, प्रस्टिँदैन । तर, सुरुका दुई वाक्यले ‘एकताको निरन्तरताप्रति चिन्ता’ झल्काउँछन्। महासचिवलाई धन्यवाद दिनुको कारण ‘प्रधानमन्त्रीलाई बैठकमा जान राजी गराएकामा’ हो वा ‘सचिवालय भंग गर्ने प्रस्ताव ल्याएकामा’– बुझिँदैन । तैपनि यति बुझिन्छ–एकता बचाउ अभियानमा महासचिवले मरिहत्ते गरेकै छन् ।

दाहालसहित सचिवालयका पाँच सदस्यले ओलीलाई बैठक बोलाउन दबाब दिँदै कात्तिक २२ मा पत्र थमाए । त्यसको प्रत्युत्तरमा ओलीले दाहाललाई सम्बोधन र बाँकी ४ लाई बोधार्थ दिई पत्रै लेखे । यो लेखालेखले दूषित बनेको माहोलमा कात्तिक २८ गते सचिवाल बैठक बस्यो । त्यहाँ दाहालले ओलीविरुद्ध आरोपै आरोययुक्त १९ पृष्ठे ‘राजनीतिक प्रतिवेदन’ बाँडे । त्यसलाई ओलीले ‘आरोपपत्र’ नामकरण गरे र फिर्ता लिन अडान राखे। फिर्ता लिइएन । बरु मंसिर ३ मा सचिवालय बैठक बोलाइयो ।

त्यसमा सहभागी नहुने अडान राखिएरहेका अध्यक्ष ओली अन्ततः महासचिव पौडेल, नेता सुवास नेम्बाङलगायत निकटवर्तीका सुझाव मान्दै गए ।

उक्त बैठकमा दाहालको ‘प्रतिवेदन’ माथि बोल्दै ओलीले मिहिन तरिकाले पढेर पूरापूर जवाफ दिन समय लिन चाहे । त्यही कारण बैठक ११ औं दिनमा राखियो । १० दिन लगाएर अब ओलीले लेख्ने प्रत्युत्तर कस्तो आउला ?

कसैले यससँगै विवाद मत्थर हुने अनुमान गरेका छन् । कतिपयले भने झन् जटिल डिलतिर होमिएको अड्कल काटेका छन् । छिनछिनमा हुने रडाकोका कारण बाहिरबाट हेर्दा नेकपा चर्किंदै र टालिँदै गरेको छ ।

यसपालि अलि ठूलै चिरा परेको छ । टाल्न हम्मे पर्ने गरी। यही ढाँचा र संरचनामा विवाद साम्य भइगए पनि पुनः बल्झिने जोखिम विगतका नजिरले देखाइसकेका छन् । त्यही भएर मध्यवर्ती नेताहरूको सुझाव छ, ‘जुन तहको बैठक बेलाएर हुन्छ, विवाद निमिट्यान्न पारौं । बरु संरचना भत्काऔं, एकता मजबुत पारौं ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्