ओली–प्रचण्डलाई संयुक्त प्रस्तावका लागि मनाउन दोस्रो पुस्ताका नेताहरुको ‘लबिङ’


६ मंसिर २०७७, शनिबार
kp oli prachanda

काठमाडौं, ६ मंसिर । ‘काउन्टर प्रस्ताव’ पेस भए सोही बिन्दुबाट पार्टी फुट्ने खतरा बढेपछि प्रचण्डलाई प्रस्ताव फिर्ता लिन लगाउँदै ओलीलाई पनि एकल प्रस्ताव पेस गर्नबाट रोक्न दोस्रो पुस्ताका नेताहरुले ‘लबिङ’ थालेका छन् ।

पार्टीलाई फुटबाट जोगाउने हो भने मंसिर १३ को सचिवालय वैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षको संयुक्त प्रस्ताव आउनु पर्ने निष्कर्षसहित दोस्रो पुस्ताका नेताहरुले छलफल र दौडधूप तीब्र बनाएका छन् ।

प्रचण्डले आफूमाथि आरोप लगाउँदै यसअघि पेस गरेको १९ पृष्ठ लामो प्रस्तावको एकएक जवाफ आउँदो सचिवालय बैठकमा दिने भन्दै ओली बालुवाटारमा दस्ताबेजको तयारीमा छन् । उनले प्रचण्डविरुद्ध अर्को प्रस्ताव ल्याए त्यसमा ‘आगोमाथि घ्यू’ को काम गर्ने संयुक्त प्रस्तावमा दुई अध्यक्षलाई सहमत गराउन पहल गरिहेका नेताहरुको भनाई छ ।

दोस्रो तहका नेताहरूसँग योबीचमा व्यक्तिगत छलफल गरिरहेका महासचिव विष्णु पौडेलले शुक्रबार अध्यक्ष प्रचण्डसँग पार्टी कार्यालय धुम्बाराहीमा संयुक्त दस्ताबेज बनाएर जानुपर्ने प्रस्ताव राखेका छन् । ‘छुट्टाछुट्टै प्रस्ताव जाने कुराले पार्टीलाई सहमतिमा पुर्‍याउँदैन,’ प्रधानमन्त्री ओलीसँग समेत नियमित छलफल गरिरहेका महासचिव पौडेलले अध्यक्ष प्रचण्डसँग भनेका थिए ।

अध्यक्ष दाहालले आउँदो बैठकका लागि प्रस्तावको तयारी गर्न थालेका प्रधानमन्त्री ओलीको मनस्थिति बुझ्न र सम्भावित कदमबारे परामर्श गर्न शुक्रबार महासचिव पौडेल र ओलीनिकट स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई छुट्टाछुट्टै धुम्बाराही बोलाएका थिए ।

त्यही क्रममा महासचिव पौडेलले पार्टीभित्र सहमतिका साथ अघि बढ्न तत्कालका लागि दाहालको प्रस्ताव थाती राखेर दुवै अध्यक्षको संयुक्त प्रस्ताव पेस गर्ने वातावरण बने पार्टी एकता जोगिने धारणा राखेको पौडेल निकट स्रोतले बताएको छ । ‘सहमतिको वातावरण बनाउन अहिले समय छ । त्यसैले यो अवसरलाई सदुपयोग गरौं, यो अवसर गुम्यो भने स्थिति गाह्रो हुन्छ,’ पौडेललाई उद्धृत गर्दै स्रोतले भन्यो ।

हिजो पार्टीका उपनेता सुवास नेम्वाङसँगको छलफलमा अध्यक्ष प्रचण्डले आफू पार्टी एकताकै पक्षमा रहेको र एकता डोरी चुँडिनसकेको बताएका थिए । तर, प्रस्ताव फिर्ता लिनेबारेमा भने अहिलेसम्म कुनै निश्चित भइसकेको छैन । आज पनि नेताहरु पार्टीभित्रको पछिल्लो विवादलाई समाधान गर्ने विषयमा छलफल र परामर्शमै रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७