पाँचथरका तीन हजार घरमा एकै दिन विद्युतीकरण


६ मंसिर २०७७, शनिबार
bijuli
फाइल फोटो

पाँचथर, ६ मंसिर । जिल्लामा शुक्रबार एकै दिन तीन हजार घरमा विद्युतीकरणको शुभारम्भ गरिएको छ । मिक्लाजुङ र कुम्मायक गाउँपालिकाका दुई हजार ९९० घरमा विस्तार भएको विद्युतको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले शुभारम्भ गरेका हुन् ।

शुक्रबार जिल्ला आएका उनले अलग अलग पाँच कार्यक्रममा सहभागी भई विद्युतीकरणको शुभारम्भ गरेका हुन् । दुई गाउँपालिकाका छ वटा वडामा विद्युतीकरणको काम पूरा भएपछि शुक्रबार एकै दिन शुभारम्भ सम्पन्न भएको हो । सबै स्थानमा सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत् सहकारी संस्थाको अगुवाइमा विद्युत् विस्तार गरिएको हो ।

कुम्मायक – २ माङ्जाबुङका ७२५ घरमा थेङ्गेनचोक ग्रामीण विद्युत् सहकारी संस्थाको अगुवाइमा विद्युतीकरण सम्पन्न भएको हो । यहाँ ठेक्कामार्फत वाइवा इन्फ्राटेक प्रालि काठमाडौँले रु छ करोड ९३ लाख ९४ हजार ४४५ का लागतमा विद्युतीकरणको काम सम्पन्न गरेको छ । विद्युत् विस्तारका लागि एचटी लाइन १२।७ किलोमिटर र एलटी लाइन ६१.९६ किलोमिटर विस्तार गरिएको छ भने चार ट्रान्सफर्मर राखिएको विद्युत् सहकारीका सचिव रुपेश शेर्माले जानकारी दिए ।

मिक्लाजुङ–१ र २ सराङडाँडा ८०५ घरमा सराङडाँडा विद्युत् सहकारी संस्थाको अगुवाइमा विद्युतीकरणको काम पूरा भएको छ । यहाँ पनि ठेक्कामार्फत वाइवा इन्फ्राटेक प्रालिले नै रु १० करोड चार लाख ४९ हजार ९७१ लागतमा विद्युतीकरणको काम पूरा गरेको छ । यहाँ एचटी लाइन २२।३९ किलोमिटर तथा एलटी लाइन ९२।६० किलोमिटर विस्तार गरिएको छ भने १० ट्रान्सफर्मर रहेको विद्युत् सहकारीका नरेन्द्र बस्नेतले जानकारी दिए ।

मिक्लाजुङकै वडा नं ६ र ७ लिम्बामा मिक्लाजुङ विद्युत् सहकारी संस्थाको अगुवाइमा यहाँका ८६० घरमा विद्युतीकरणको काम सम्पन्न भएको छ । त्रिपुरेश्वर कन्डक्टर जयदुर्गे इञ्जिनीयरिङ जेभीले रु पाँच करोड १२ लाख ७९ हजार २९५ का लागतमा यहाँ विद्युतीकरणको काम सम्पन्न गरेको हो । विद्युत् विस्तारका लागि १७।४१ किलोमिटर एचटी लाइन र ५९।३२ किलोमिटर एलटी लाइन विस्तार गरिनाका साथै आठ ट्रान्सफर्मर जडान गरिएको विद्युत् सहकारीका अध्यक्ष फणीन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

मिक्लाजुङ–८ दुर्दिम्बाका ६०० घरमा यहाँको थोप्लेजुङ विद्युत् सहकारी संस्थाको अगुवाइ विद्युतीकरणको कार्य पूरा भएको हो । यहाँसमेत त्रिपुरेश्वर कन्डक्टर जयदुर्गे इञ्जिनीयरिङ जेभीले रु चार करोड ४९ लाख ५१ हजार ५०६ को लागतमा विद्युतीकरणको काम पूरा गरेको हो ।

विद्युत् विस्तारका लागि १५.९५ किलोमिटर एचटी लाइन र ६६.३८ एलटी लाइन विस्तार गरिएको छ भने नौ वटा ट्रान्सफर्मर जडान गरिएको विद्युत् सहकारीले जनाएको छ । लिम्बा र दुर्दिम्बामा विसं २०७२ तथा सराङडाँडा र माङजाबुङमा २०७४ सालमा नेपाल विद्युत् प्राधिकरणबाट सामुदायिक ग्रामीण विद्युतीकरणका लागि स्वीकृति प्राप्त गरी विद्युतीकरणको शुरुआत भएको प्राधिकरणका इञ्जिनीयर विधान पोखरेलले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरणले विद्युत् विस्तारको काम अगाडि बढाइनसकेको अवस्थामा विद्युत् सहकारीले उपभोक्ताबाट कूल लागतको प्रतिशत रकम सङ्कलन गरी विद्युतीकरणको कार्य अगाडि बढाएका थिए । सबै घरमा विद्युतीकरणको कार्य पूरा गरी जिल्लालाई चालू आर्थिक वर्षभित्रै अँध्यारोमुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको मन्त्री नेम्वाङले बताए ।

पछिल्लो पटक प्राधिकरणको वितरण केन्द्र फिदिममा स्थापना भएपछि विद्युत् सहकारीबाट काम नभएका स्थानमा प्राधिकरणमार्फत पनि विद्युतीकरण अगाडि बढाइएको छ । उनले शुक्रबार जिल्लाको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा विद्युत् सबस्टेशन निर्माणको शिलान्यास समेत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७