शंखधर साख्वाः र पद्मरत्न तुलाधरको सालिक अनावरण


६ मंसिर २०७७, शनिबार
ROS ktm

काठमाडौं, ६ मंसिर । काठमाडौंको ‘शंखधर उद्यान’ मा निर्माण गरिएको शंखधर साख्वाः र पद्मरत्न तुलाधरको सालिक अनावरण गरिएको छ ।

शनिबार एक कार्यक्रमबीच राष्ट्रिय विभूति शंखधर साख्वाः र मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको सालिक काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावरण गरेका हुन् ।

मेयर शाक्यले शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राज्यलाई योगदान गरेका व्यक्ति, सहिद र राष्ट्रिय विभूतिलाई सबैले चीरकालसम्म चिनुन् र सम्झिरहुन भनेर महानगरपालिकाले सालिक निर्माण गरेको जानकारी दिएका छन् । शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा राज्यमन्त्री रामवीर मानन्धर र बागमती प्रदेशको भौतिक योजना मन्त्री रामेश्वर फुयाल आदिको उपस्थिति रहेको थियो ।

e9bc91a6854ea5725831e6a1137273fa w1000 h500 cp

सालिकको अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले महानगरपालिकाले प्रशंसात्मक र सकारात्मक कामको थालनी गरेको बताए। ‘साख्वा नेपाल संवतका प्रवर्तक र राष्ट्रिय विभूति समेत हुन् । ०५६ साल मंसिर ३ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो,’ मन्त्री श्रेष्ठले भने, ‘साख्वाःले घरमा ल्याएको बालुवा सुन भएपछि त्यही बेचेर जनतालाई ऋणमुक्त गराएको भन्दै शंखधर दानी व्यक्ति रहेको किंवदन्ती प्रचलित छ ।’

उनले वामपन्थी राजनीतिज्ञ तुलाधरले २०४६ सालको संयुक्त जनआन्दोलन सफल पार्न विभिन्न टुक्रामा विभाजित वामपन्थी पार्टीहरूलाई एकै ठाउँमा ल्याउन प्रमुख सूत्रधारको भूमिका निर्वाह गरेका बताए । ‘यस्ता व्यक्तित्वहरुको सम्मानमा महानगरपालिकाले शालिक निर्माण गरेर उदाहरणीय काम गरेको छ’, उनले भने ।

आजभन्दा ११४१ वर्ष अघि ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई आफ्नो सम्पत्तिबाट ऋण चुक्ता गरी साख्वाः नयाँ युगको थालनी गरेका थिए । नेपाल सरकारले २०५६ मंसिर २ गते साख्वाःलाई राष्ट्रिय विभूति घोषित गरेको थियो ।

EnU4e4IXcAAgY 3

त्यस्तै स्व. तुलाधरले नेपालको मानव अधिकार अभियान, भाषा र जातीय समानताको आन्दोलनमा ठूलो योगदान गरेका थिए । यसअघि महानगरपालिकाले जहाँनिया राणा शासनविरुद्धको लडाइँका क्रममा सहादत प्राप्त गरेका चार सहिद (गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री) को सम्झनामा पूर्णकदको सालिक निर्माण गरिसकेको छ ।

महानगरपालिकाले उनीहरु चारै जनालाई मृत्युदण्ड दिएको स्थान शोभा भगवती, सिफलस्थित र टेकुमा पूर्णकदको शालिक निर्माण गरेको हो । दुवै सालिकाको निर्माण करिब २० लाखको लगानीमा महेश तुलाधरले गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७