काठमाडौं महानगरले निःशुल्क पिसिआर गर्न आइतबारदेखि स्वाब संकलन गर्दै

काठमाडौं उपत्यकामा संक्रमितको संख्या एक लाख बढी


६ मंसिर २०७७, शनिबार
97196060 1800627363412665 5823328191351095296 n

काठमाडौं, ६ मंसिर । काठमाडौं महानगरपालिकाले भोलि (आइतबार) देखि निःशुल्क पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने भएको छ ।

संघीय सरकारले तोकेका मापदण्डभित्र पर्ने व्यक्तिको निःशुल्क पिसिआर परीक्षण गर्न स्वाब संकलन फेरि शुरु गर्न लागिएको महानगरका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिएका छन् ।

शनिबार राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा उपस्थित मेयर शाक्यले पत्रकारहरुसँग कुरा गर्दै आइतबारदेखि पुनः स्वाब संकलन शुरु गर्न लागिएको जानकारी दिएका हुन् । यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र ज्येष्ठ नागरिकको पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको पनि उनको दाबी छ ।

काठमाडौं महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पिसिआर टेस्ट गर्न मेयर शाक्यको आग्रह छ ।

पछिल्लो समय बढिरहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको पनि उनले बताएका छन् । अहिले बजारमा देखिएको भिडभाड नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई सुझाव दिइसकेको र सरकारको निर्णय अनुसार हुने पनि मेयर शाक्यले बताए ।

काठमाडौं उपत्यकामा संक्रमितको संख्या एक लाख बढी
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । हिजो (शुक्रबार) काठमाडौं उपत्यकामा ११ सय ७ जना कोरोना संक्रमित थपिएका थिए । उपत्यकामा शुक्रबारसम्म एक लाख ८७२ जना संक्रमित छन् ।

हालसम्म काठमाडौंमा ८१ हजार ५ सय ८८, भक्तपुरमा ७ हजार ३ सय ३६ र ललितपुरमा ११ हजार ९४८ जना संक्रमित देखिएका छन् ।

त्यसैगरी काठमाडौंमा ७१ हजार ५९१, भक्तपुरमा ६ हजार ४७० र ललितपुरमा ९ हजार ६३१ जना संक्रमित निको भएको मन्त्रालयको तथ्यांकमा छ । त्यसैगरी काठमाडौंमा ३१६, भक्तपुरमा ८३ र ललितपुरमा ८९ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७