अस्पतालको लापरबाहीले नौ महिनाकी गर्भवतीको मृत्यु भएको आफन्तको आरोप

आम्दा अस्पतालमा दिनभर धर्ना, दुई लाख दिने सहमतिपछि आफन्तले बुझे शव


७ मंसिर २०७७, आईतवार
aamda hospital

झापा, ७ मंसिर । झापाको दमकस्थित आम्दा अस्पतालको लापरबाहीले नौमहिने गर्भवतीको मृत्यु भएको भन्दै शुक्रबार रातिदेखि शनिबार दिनभर आफन्तले अस्पतालमा धर्ना दिएका छन् ।

सामान्य टाउको दुखेर ल्याइएकी धनकुटा घर भई मोरङ पथरी शनिश्चरे– २ मा बस्दै आएकी ३४ वर्षीया मनिता नेपालीको शुक्रबार साँझ मृत्यु भएको थियो । उनी नौ महिनाकी गर्भवती थिइन् ।

सुरुवाती समयदेखि नै आम्दा अस्पतालमा जचाउँदै आएकी नेपालीको पेटमा जुम्ल्याहा बच्चा रहेको डाक्टरहरूले जानकारी दिएका थिए । शुक्रबार साँझ टाउको दुख्यो भनेपछि अस्पताल ल्याइएको मनिताका श्रीमान् प्रकाश विश्वकर्माले बताए ।

‘केही नै भएको थिएन । टाउको मात्र दुखेको थियो । घरमा उनैले खाना बनाइन् । खाएर भाँडा माझेर हामी एम्बुलेन्समा चढेर अस्पताल आयौँ । गेटबाट हिँडेरै पुगिन्,’ उनी भन्छन्, ‘नर्सहरूले मलाई औषधि लिन भनेर पठाए । म फार्मेसी पुग्दा अर्कै औषधि चलाइसक्यौँ ल्याउन पर्दैन भने । म पुग्दा त श्रीमती बितिसकेकी रहिछिन् । अस्पतालको लापरबाही नभएर यो के हो ?’ गर्भवती भएका कारण अन्य अस्पतालमा नलगी सीधै आम्दा ल्याएको उनी बताउँछन् । ‘जुन पायो त्यही औषधि खान हुँदैन भनेर हामीले सधैँ आउने आम्दा ल्यायौँ,’ उनले भने, ‘तर, यहाँ पनि यस्तै भयो ।’

उनले केही महिनायता उच्चरक्तचापको औषधि सेवन गर्दै आएकी थिइन् । उक्त औषधि आम्दा अस्पतालले नै दिएको मृतक मनिताकी दिदी रञ्जिता नेपालीले बताइन् । ‘उसलाई प्रेसर देखिएपछि हामीले अस्पताललाई पनि यहाँ हुन्छ कि अरूतिरै लानुपर्छ भनेर सोधेका थियौँ । त्यो वेला हामीसँग सबै उपकरण छ भने,’ उनले भनिन्, ‘अहिले मान्छे बितेपछि हामीसँग छैन भन्दा कति सुहाउँछ ?’

अस्पताल प्रशासनले भने उच्चरक्त चापकै कारण मनिताको मृत्यु भएको दाबी गरेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश शर्माले उनको रक्तचाप उच्च भएकै कारण मृत्यु भएको दाबी गरे । ‘हामी यो घटनाले दुखित छौँ । यसमा अस्पतालको केही लापरबाही छैन । उहाँको प्रेसर हाई भएरै निधन भएको हो,’ उनले भने, ‘यहाँ नसक्ने भएपछि हामीले सुविधासम्पन्न अस्पतालमा रेफरको तयारी गरिरहेका थियौँ । बाटोमा अप्ठ्यारो नपरोस् भन्नलाई औषधि चलायौँ । औषधिले कामै नगरी उहाँको निधन भयो ।’

दुई लाख दिने सहमतिपछि बुझे शव
मृतक मनिताका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै दिनभर अस्पताल परिसरमा धर्ना दिए । शुक्रबार राति बसेको आफन्त र अस्पताल समितिको बैठकले निष्कर्ष ननिकालेपछि उनीहरूले शव नै नउठाई अस्पताल प्रशासनलाई दबाब दिइरहे ।

दमक, कन्काई र पथरी शनिश्चरेका जनप्रतिनिधि, अस्पताल प्रशासन र मृतकका आफन्तबीच पाँच घन्टा लामो छलफलपछि शव उठाउने सहमति भयो । अस्पताल प्रशासनले किरिया खर्च बापत दुई लाख दिने सहमति गरेको दमक नगरपालिकाका प्रमुख तथा अस्पताल स्थानीय व्यवस्थापन समिति अध्यक्ष रोमनाथ ओलीले जानकारी दिए ।

छलफलले मनिताका आठ वर्षीय छोरा प्रथम विश्वकर्माको पढाइ निःशुल्क गर्न पहल गर्ने सहमति भएको बताए । ‘उनी निजी स्कुल पढ्दा हरेछन् । स्थानीय सरकारले कक्षा– १० सम्म निःशुल्क पढाउन पहल गर्ने सहमति भएको छ,’ प्रमुख ओलीले भने, ‘त्यसपछि एचए र अन्य टेक्निकल विषय पढे आम्दामै निःशुल्क पढाउने सहमति भएको छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७