कर्णाली प्रतिष्ठानमा ३९ दिनदेखि ताला

उपकुलपति काठमाडौंबाट फर्किए, कर्मचारी आन्दोलनमा, लामो तालाबन्दीले कामकाज ठप्प, शैक्षिक कार्यक्रम पनि प्रभावित


७ मंसिर २०७७, आईतवार
tala karnali2020 11 22 06 43 19

जुम्ला, ७ मंसिर । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३९ दिनदेखि तालाबन्दी छ । शैक्षिक र प्रशासन फाँटमा गरिएको तालाबन्दीले कामकाज ठप्प भएको छ भने शैक्षिक कार्यक्रम पनि प्रभावित भएका छन् ।

उपकुलपति प्रा.डा. राजेन्द्रराज वाग्लेले मुनिराज क्षत्रीलाई जनस्वास्थ्य संकायको डिन नियुक्त गरेपछि कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । प्रतिष्ठानको काठमाडौंस्थित सम्पर्क कार्यालयबाटै अनावश्यक रूपमा डिन नियुक्त गरिएको बताउँदै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । प्रतिष्ठानलाई अनावश्यक भार थपेको बताउँदै कर्मचारीले २८ असोजमा तालाबन्दी गरेका थिए ।

अहिले प्रतिष्ठानमा ३० विद्यार्थी अध्ययनरत छन् । दुई जना डिन यसअघि नै नियुक्त भएका थिए । थप तेस्रो डिन आवश्यक नभएको कर्मचारीको भनाइ छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एक–एक जना डिन मात्रै रहेकाले कर्णाली प्रतिष्ठानमा आफ्ना मान्छेलाई काम दिन तेस्रो डिन नियुक्त गरिएको कर्मचारी कल्याण समितिका संयोजक रामाकान्त उपाध्यायले बताए । उनले भने, ‘यसबाट प्रतिष्ठानलाई अनावश्यक आर्थिक भार थपिएको छ ।’

३९ दिनसम्म तालाबन्दी खोल्न पहल भएको छैन । उपकुलपति प्रा.डा. वाग्ले काठमाडौंबाट जुम्ला फर्केका छैनन् । उनले काठमाडौंस्थित सम्पर्क कार्यालयबाटै काम गर्दै आएका थिए । जब कि, सरकारले एक वर्षअघि नै सम्पर्क कार्यालय हटाउन निर्देशन दिएको थियो । उपकुलपति प्रा.डा. वाग्लेले बेवास्ता गर्दा कर्मचारीले पनि आन्दोलन फिर्ता लिएका छैनन् । सोहीकारण प्रतिष्ठानको कामकाज अस्तव्यस्त बनेको छ ।

उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र प्रशासनमा तालाबन्दीले शैक्षिक कार्यक्रमसमेत प्रभावित भएका छन् । एमबिबिएस पढाइ सुरु गर्ने प्रतिष्ठानको तयारी अलपत्र परेको छ । पदाधिकारीहरू जिम्मेवार नबन्दा यो अवस्था आएको आन्दोलनरत कर्मचारीको भनाइ छ । पटक–पटक कोसिस गर्दा पनि उपकुपति प्रा.डा. वाग्ले फोन सम्पर्कमा आएनन् ।

प्रशासन र लेखा शाखामा पनि तालाबन्दी गरिएका कारण स्वास्थ्यकर्मीसहित कर्मचारीले तलब पाएका छैनन् । दसैँ र तिहारमा समेत तलब नपाएको उनीहरूको गुनासो छ । प्रतिष्ठानमा करिब तीन सय ५० जना कर्मचारी छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७