कोटेश्वर–जडीबुटी सडक खण्ड ६ लेन विस्तार र नागढुंगा–सिस्ने खोला सुरुङमार्ग निर्माण पुसबाट सुरु गरिने


७ मंसिर २०७७, आईतवार
koteshor
फाइल फोटो

काठमाडौं, ७ मंसिर । सरकारले ४ लेनको कोटेश्वर–जडीबुटी सडकखण्ड ६ लेनमा विस्तार गर्ने काम पुसदेखि सुरु गर्ने भएको छ । थप दुई लेन विस्तार गर्न ठेक्का मूल्यांकनको काम भइरहेको सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले जानकारी दिए ।

उनका अनुसार मंसिर तेस्रो हप्तासम्ममा ठेक्काको टुंगो लाग्नेछ । डिभिजनका अनुसार चालू आर्थिक वर्ष ०७७–७८ भित्रै काम सक्ने योजना छ । सडक विस्तार कोटेश्वर चोकदेखि काठमाडौं र भक्तपुर जोड्ने मनोहरा पुलसम्म गरिनेछ । १२ करोड रुपैयाँ बजेट विनियोजन गरेको सडक विस्तारका लागि सबै प्राविधिक अध्ययनको काम सम्पन्न भइसकेको छ ।

पूर्वबाट राजधानी भित्रिने एक मात्र नाकामा दैनिक तीन घन्टासम्म जाम हुन थालेपछि सरकारले समाधानको उपायस्वरूप सडक विस्तार गर्ने योजना अघि सारेको हो । यसअघि बजेटमा समेत सरकारले सो क्षेत्रमा जामको समस्या समाधान गर्न सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको थियो ।

नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार संस्थानले अहिले कोटेश्वर–जडीबुटी सडकखण्डमा विद्युत् र टेलिफोनको तार भूमिगत गर्ने काम गरिरहेको छ । उनीहरूले मंसिर तेस्रो हप्तासम्ममा काम सम्पन्न गर्ने जानकारी दिएको सडक डिभिजन कार्यालयको भनाइ छ ।

‘अब निर्माण हुने सडकलाई पटक–पटक भत्काउन नपरोस् भनेर तार भूमिगत गर्ने काम सकेर मात्र सडक निर्माण थाल्न लागिएको हो,’ डिभिजन प्रमुख कुबेर नेपालीले भने । ढल र सडक निर्माणको काम भने एउटै ठेक्कामा गर्ने गरी समन्वय गरिएको छ । यसले पटक–पटक सडक भत्काउने र फरक–फरक निकायले आफ्नो काम गर्दा त्यसको असर सडकमा पर्ने सम्भावना हटेको छ । विगतमा सडक विस्तारको काम गर्दा अन्य सरोकारवाला निकायसँग समन्वय नहुँदा समस्या हुँदै आएको छ ।

सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार सडक विस्तारका लागि जग्गा प्राप्तिको काम सकिएको छ । त्यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले चर्चेको क्षेत्रमा नागरिक उड्डयन प्राधिकरणले जग्गा उपलब्ध गराइसकेको छ । प्राधिकरणले साढे सात रोपनी जग्गा उपलब्ध गराएको हो ।

त्यस्तै, सडकको दक्षिणी क्षेत्रमा पर्ने काठमाडौँ महानगरपालिकाको जग्गा पनि प्राप्त गर्ने प्रक्रियामा सहमति भइसकेको डिभिजन प्रमुख नेपालीले जानकारी दिए । त्यस क्षेत्रमा सार्वजनिक शौचालय र अन्य केही केबलहरू रहेछन् । उनीहरूले १० वर्षको सम्झौता महानगरसँग गरेका थिए । तर, अझै ३ वर्ष सम्झौता बाँकी हुँदाहुँदै पनि महानगरपालिकाले शौचालय हटाउने निर्णय गरेको र त्यसका लागि अन्य ठाउँमा जग्गा उपलब्ध गराउने गरी सहमति भएको छ ।

तर, जडीबुटी चोकमा रहेको एउटा सानो घर प्राप्तिमा भने अझै सहमति भएको छैन । घरधनीले धेरै मुआब्जा खोजेका कारण ढिलाइ भएको हो । त्यसलाई पनि मनाउने काम भइरहेको डिभिजन कार्यालयले जानकारी दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार कोटेश्वरदेखि जडीबुटी जाने सडकको बायाँतर्फ एक लेन र दायाँतर्फ दुई लेन सडक विस्तार गर्न पुग्ने जग्गा प्राप्ति भएको छ । तर, तत्काललाई दुवैतर्फ एक–एक लेन मात्र विस्तार गरिनेछ ।

सरकारको योजनाअनुसार अहिले तिनकुने–कोटेश्वर–जडीबुटी हुँदै पेप्सीकोलातर्फ जानेलाई मात्र एकतर्र्फी एउटा छुट्टै लेन तयार गरिनेछ । त्यस्तै, भक्तपुरतिरबाट कोटेश्वर चोक हुँदै बालकुमारी–ललितपुरतर्फ जानका लागि एकतर्फी दुई वटा ‘डेडिकेटेड लेन’ तयार गरिनेछ । यसले अहिले कोटेश्वरको जाम गट्ठाघरसम्म पुग्ने र ‘पिक आवर’मा ३ घन्टासम्म जाममा बस्नुपर्ने अवस्था अन्त्य हुने विश्वास छ ।

धुलिखेल–बर्दिवास जोड्ने बिपी राजमार्ग सञ्चालनमा आएपछि पूर्व जाने सवारीसाधनको एक मात्र निकासद्वार कोटेश्वर–जडीबुटी सडकलाई मानिन्छ । बिपी राजमार्ग सञ्चालनमा आएपछि पूर्व जाने सवारीसाधनको अत्यधिक वृद्धि भयो । तर, काटेश्वर र जडीबुटीका बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘लाइट सिग्नल’ पोलका कारण साँघुरो (बोटलनेक) सडक छ ।

यसैकारण जाम हुने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले बताए । उनका अनुसार बिहान र बेलुका अधिकतम ३५ मिनेटसम्म जाम हुने गरेको छ । तर, सर्वसाधारणले औसतमा ३ घन्टा जाम खेप्नुपरिरहेको बताउँछन् । जाम हुनुको अर्को कारण भक्तपुर क्षेत्रमा बस्ती विकास आक्रामक रूपमा हुनुलाई पनि मानिन्छ ।

३० महिनामा नागढुंगा–सिस्ने खोला सुरुङ निर्माण सम्पन्न गरिने

बहुप्रतीक्षित नागढुंगा सुरुङमार्ग खन्ने काम पुसदेखि थालिने भएको छ । २४ कात्तिकदेखि सुरुङ खन्ने योजना भए पनि आवश्यक स्टिलको पोर्टल फ्रेम आइपुग्न ढिला भएकाले काम पछाडि धकेलिएको नागढुंगा सुरुङमार्गका निमित्त आयोजना प्रमुख नरेशमान शाक्यले बताए । उनले भने, ‘सुरुङ खन्न थाल्नुपूर्व ढोकाको चौकोस आकारका फ्रेम राख्नुपर्छ । त्यसपछि मात्र निर्माण थालिन्छ ।’

पोर्टल फ्रेम अर्डर दिएको कम्पनीका कर्मचारी कोरोना संक्रमित हुँदा ढिलाइ भएको उनको भनाइ छ । ‘अझै १० दिन ढिलाइ हुने जानकारी पाएका छौँ,’ उनले भने । त्यसपछि निर्माणस्थलमा ल्याएर जोड्न अर्को १० दिन लाग्नेछ । त्यसपछि मात्र सुरुङ खन्ने काम थालिनेछ । ‘ढिलोमा पनि पुसदेखि सुरुङ खन्ने काम सुरु हुनेछ,’ निमित्त प्रमुख शाक्यले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको बलम्बुबाट थालनी भई धादिङको सिस्ने खोलामा निस्किने सुरुङमार्गको शिलान्यास गरेको वर्ष दिन पूरा भएको छ । सुरुङ र सडक गरी कुल ५ दशमलव १३ किलोमिटर लामो आयोजनामा तीन लेनको सुरुङमार्ग हुनेछ ।

उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनबाट यात्रा गर्नेछन् भने बाहिरिने सवारीसाधन एक लेनबाट जानेछन् । यस मार्गमा सुरुङको कुल लम्बाइ २ दशमलव ६ सय ८८ किमि र सडकको लम्बाइ २ दशमलव ४५ किमि हुनेछ ।

सुरुङ खन्ने बाहेकका काम धमाधम
आयोजना कार्यालयका अनुसार अहिले सुरुङ खन्नेबाहेकका काम धमाधम भइरहेका छन् । विशेष गरी सुरुङ खन्नुपूर्व गर्नुपर्ने कामलाई गति दिएको छ । अहिले सुरुङमार्गसम्मको साढे २ किलोमिटर पहुँच मार्ग निर्माण, सर्भिस सेन्टर निर्माण, स्लोप कटिङ र अन्य काम भइरहेको निमित्त आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए । अहिले आयोजनास्थलमा २ सय ५० कामदार परिचालन गरिएको छ । जापानदेखि २५ जना सुरुङ निर्माणमा दक्ष कामदार आएका छन् ।

आयोजना सम्पन्न गर्ने अवधि अब ३० महिना मात्र
आयोजना निर्माण कम्पनी जापानको हाज्मा आन्दो कर्पोरेसनसँग ६ असोज ०७६ मा निर्माण थालिएको ४२ महिनामा सम्पन्न गर्ने सम्झौता भएको छ । सोहीअनुसार ५ कात्तिक ०७६ मा उद्घाटन भएको थियो ।

‘१२ महिना बितिसक्दा पनि अहिलेसम्म कार्ययोजनामा कुनै परिवर्तन भएको छैन । यसअनुसार अबको ३० महिनामा आयोजना सम्पन्न हुन्छ,’ निमित्त प्रमुख शाक्यले भने । कोभिडले गर्दा केही समय थप गर्नुपर्ने भनेर निर्माण कम्पनीले माग भने गरेको छ । तर, आयोजना कार्यालयले भने अझै पनि काम तोकिएकै समयमा सम्पन्न गर्न सकिने भएकाले थप गर्ने सम्भावना नरहेको जानकारी दिएको छ ।

तोकिएको समयभन्दा झन्डै दुई वर्ष ढिलो गरी भएको ठेक्का सम्झौताअनुसार आयोजना सन् २०२३ मा सम्पन्न हुनेछ । यसअघि सन् २०१६ मा सहुलियत दरमा जापानसँग ऋण सम्झौता हुँदा २०१८ मध्यदेखि नै निर्माण थालेर २०२१ भित्र काम सम्पन्न गर्ने लक्ष्य थियो । तर, खरिद सम्झौताका विभिन्न प्रक्रिया, जग्गाप्राप्ति र अन्य कारणले ढिलाइ हुँदा ठेक्का सम्झौता नै सन् २०१९ को अन्तिममा भएको थियो ।

कोभिडको ढिलाइले लागत थोरै बढ्ने सम्भावना
कोभिडका कारण आयोजना लागत थोरै बढ्ने सम्भावना छ । जग्गा प्राप्तिसमेत गरेर अहिलेसम्म आयोजनाको लागत २२ अर्ब रुपैयाँ छ । जग्गा प्राप्तिबाहेक सुरुङमार्गको लागत रकम १६ अर्ब ६९ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको छ ।

निर्माणमा लाग्ने सबै रकम जापानी सहुलियत ऋण हो । सरकारले १० वर्षसम्म यसको ब्याज तिर्नुपर्दैन । त्यसपछि भने शून्य दशमलव ०१ प्रतिशतका दरले प्रतिवर्ष ब्याज भुक्तानी गर्नुपर्नेछ । ३० वर्षभित्र ऋण चुक्ता गरिसक्नु पर्नेछ । त्यस्तै, नेपाल सरकारले ५ अर्ब ५० करोड रुपैयाँ मुआब्जामा खर्च गरिसकेको छ ।

सुरुङसँगै दुई फ्लाई ओभर निर्माण हुने
सुरुङमार्गकै अंग रहने गरी दुईवटा फ्लाई ओभर पनि निर्माण हुनेछन् । नेपालमा फ्लाई ओभर पहिलोपटक निर्माण हुन लागेको हो । दुई फ्लाई ओभरमध्ये एउटा अहिलेको सडक ट्राफिकलाई अवरोध नपुगोस् भनेर कलंकी–नागढुंगा सडकखण्डको बलम्बुमा निर्माण गरिनेछ । यसले त्रिभुवन राजपथमा सवारी आवत–जावतलाई सुचारु गर्नेछ । अर्को फ्लाई ओभर भने नागढुंगा जोड्ने स्थानीय सडकमा रहनेछ । यसले पनि सडक ट्राफिक सहज बनाउन भूमिका खेल्नेछ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७