धारा गएकी १५ वर्षीया किशोरी सात जनाको समूहबाट बलात्कृत, दुई जना पक्राउ

घटना मिलापत्रका लागि आरोपितका आफन्तको दवाव


७ मंसिर २०७७, आईतवार
Rape for nayapage

नवलपरासी, ७ मंसिर । किशोरीलाई बलात्कार गरेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

स्थानीय १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कृष्ण गुप्ता र किसन केवट रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिएका छन् ।

पाल्हीनन्दन गाउँपालिका–२ की १५ वर्षीया बालिकामाथि २७ कात्तिकमा सामुहिक बलात्कार भएको थियो । प्रहरीका अनुसार राति करिब ९ बजेतिर घरभन्दा केही टाढा रहेको नलमा पानी भर्न जाँदा दुई जनाले मुख छोपेर नियन्त्रणमा लिएका थिए । त्यसपछि घरबाट तीन सय मिटर टाढाको बगैँचामा लगेर सात जनाले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बालिकाले दिएको बयानका आधारमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत राजीव श्रेष्ठले बताए । पक्राउ पर्नेमा पाल्हीनन्दन गाँउपालिका–२ का १७ वर्षीय किसन केवट र १६ वर्षीय कृष्ण तेली गुप्ता रहेका छन् ।

‘बालिकाले दुई जनालाई मात्रै चिनेको र रातिको समयमा अन्य पाँचजनालाई चिन्न नसकेको बताएकी छिन्,’ श्रेष्ठले भने, ‘पहिचान भएका दुवैलाई पक्राउ गरेका छौँ, अन्यको खोजी भइरहेको छ ।’
घटना मिलापत्रका लागि आरोपितका आफन्तको दवाव
अहिले पक्राउ परेकालाई छुटाउन र घटनामा मिलापत्र गर्न आरोपितका आफन्तजनले दबाब दिन थालेका छन् ।

मिलापत्र गर्न राजनीतिक दलका स्थानीय नेताले पनि दबाब दिइरहेको पीडित परिवारले बताएको छ । ‘अपराधमा संलग्नलाई कारबाही गर्नुको सट्टा नेताले पनि मिलापत्र गर्न दबाब दिइरहेका छन्,’ बालिकाकी आमाले भनिन् ।

बलात्कारको आरोपमा पक्राउ परेकाहरू गाउँकै हुन् । त्यसैले गाउँका मानिसले पनि पैसा लिएर मिल्न दबाब दिन थालेका छन् । ‘गाँउघरको कुरा हो, केही गल्ती भएको छ, तर आपसी सहमतिमा कुरा मिलाउनु पर्छ भन्दै दबाद दिइरहेका छन्,’ उनले भनिन् । कहिले स्थानीय बासिन्दा र कहिले राजनीतिक दलका स्थानीय नेताले फोन तथा भेटेरै दबाद दिइरहेको पीडितका आफन्तजनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७