धान किसानको, भाउ साहुको


७ मंसिर २०७७, आईतवार
dhan 2 scaled

काठमाडौं, ७ मंसिर । सिँचाइको दुःख छँदै छ, बेलामा मल पाइँदैन । अनेक कष्ट सहेर किसानले उब्जाउने धानमा पनि अन्ततः व्यापारीको हैकम चल्छ । किसानले फलाउँछन्, साहुले मूल्य राख्छन् ।

पैसाले फिटफिटी परेका किसान जति भन्यो त्यतिमा बेच्न बाध्य हुन्छन् । सरकारले यसपालि नेपाल कृषि सहकारी केन्द्रीय संघको मागअनुसार धान किन्न अख्तियारी त दियो, तर धेरै ढिला । कात्तिक पहिलो साता मन्त्रिपरिषद्ले सहकारीमार्फत धान खरिद कार्यविधि २०७७ स्वीकृत गर्दा अधिकांश किसानले व्यापारीलाई निकै सस्तोमा बेचिसकेका थिए ।

यो कार्यविधि भदौदेखि असोजसम्म स्वीकृत गरी प्रचारसाथ कार्यान्वयनमा ल्याइएको भए सरकारले तोकेको मूल्यमा किसानले बेच्न पाउने थिए । संघका केन्द्रीय अध्यक्ष खेम पाठकका अनुसार ढिलो गरी कार्यविधि स्वीकृत भएर कार्यान्वयनमा आयो ।

सरकारले तोकेको समर्थन मूल्यमै किसानले सहकारीलाई धान बेच्न पाउँछन् भन्ने जानकारी पनि उनीहरूलाई कुनै माध्यमबाट भएन । फलतः व्यापारीले तोकेको मूल्यमा मोटा र मध्यम जातका धान बिक्री भएका छन् । कम मूल्यमा धान खरिद गर्न पाउँदा व्यापारी मालामाल भएका छन् भने किसान मारमा परेका छन् ।

बिक्री हुने समयमा कार्यविधि स्वीकृत भएर कार्यान्वयनमा आउँदा किसानले व्यापारीलाई प्रतिक्विन्टल साढे ७ सयदेखि ९ सय ३८ रुपैयाँ घटीमा मोटा र मध्यम धान बिक्री गरेका छन् । देशभर उत्पादन भएका अधिकांश मोटा र मध्यम जातको धान व्यापारी र निजी क्षेत्रका मिल सञ्चालकले यही मूल्यमा किसानबाट खरिद गरिसकेका छन् ।

सरकारले असार ३ गते धानको समर्थन मूल्य कायम गरेको थियो । मोटा प्रतिक्विन्टल २७ सय ३५ र मध्यम २८ सय ८५ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकिएको थियो । मसिनो जातको समर्थन मूल्य भने निर्धारण गरिएको छैन । व्यापारीले मोटा धान प्रतिक्विन्टल १ हजार ८ सयदेखि १ हजार ९ सय रुपैयाँमा किसानबाट खरिद गरेका छन् । यस्तै मध्यम जातको प्रतिक्विन्टल २ हजारदेखि २ हजार १ सय रुपैयाँमा उठाएका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७