पानीको समस्या भोग्दै आएका रोल्पाली शुद्धपानीको आशामा


७ मंसिर २०७७, आईतवार
water
फाइल फोटो

रोल्पा, ७ मंसिर । रोल्पाका स्थानीय तहहरुमा पानीको प्रशस्त स्रोत भए पनि सर्वसाधारणले खानेपानीको समस्या झेल्दै आएका छन् ।

जिल्लाको रुन्टीगढी गाउँपालिकाको होलेरीबजार, गङ्गादेव गाउँपालिका, सुनिलस्मृति गाउँपालिकाको सुलिचौर, रोल्पा नगरपालिकाको बजार क्षेत्रलगायतका स्थानमा स्थानीयवासीले पानीको समस्या भोग्दै आएका छन् ।

स्थानीय सरकारले खानेपानी योजनाका लागि बजेट विनियोजन गरे पनि कामले भने तीव्रता पाउन नसक्दा घण्टौं पैदल हिँडेर खोला तथा पँधेराको पानी लिन जाने बाध्यता भोग्दै आएको स्थानीयवासीको भनाइ छ ।

रुन्टीगढी गाउँपालिकाको होलेरी बजारवासीले वर्षौँदेखि खानेपानीको अभाव झेल्दै आएका छन् । सुक्खायामसँगै पानीका मुहान सुक्दै जाने हुनाले चैत, वैशाखको खडेरीमा रातभर जाग्राम बसेर पालो कुरेर पानी भर्नुपर्ने बाध्यता छ । त्यसरी ल्याउने पानीले खाना पकाउन समेत नपुग्ने स्थानीय केशव चन्द बताउँछन् ।

होलेरी बजार क्षेत्रको खानेपानीको समस्या टार्न आर्थिक वर्ष २०६९–७० मा सरकारले रु पाँच करोड बजेट विनियोजन गरेको थियो । होलेरीस्थित चन्दनखोलाबाट लिफ्ट प्रणालीमार्फत खानेपानी आयोजना सम्पन्न गर्न उपभोक्ता समितिलाई जिम्मा दिइएको थियो ।

समितिको लापरवाहीका कारण पाँच वर्षभित्र सम्पन्न हुने योजना सात वर्ष पूरा हुँदासम्म पनि सम्पन्न हुन नसकेको स्थानीयवासीको भनाइ छ । गाउँपालिकाको तर्फबाट चालु आर्थिक वर्षमा सो योजना सम्पन्न गर्न रु ५० लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष बालाराम बुढाले बताए ।

सन् २०३० भित्र आधारभूत तहको खानेपानी तथा सरसफाइ सुविधा प्रत्येक नागरिकका घरघरमा पुर्याउने सरकारको लक्ष्यलाई कार्यान्वयन गर्न रोल्पा नगरपालिकाको सहजीकरणमा बृहत् खानेपानी आयोजना शुरु गरिएको छ ।

नगरपालिकाको वडा नंं १, २ र ४ का एक हजारभन्दा बढी लक्षित घरधुरी रहेको उक्त आयोजनाका लागि रु ३४ करोड बजेट खर्च हुने भएको छ । एशियाली विकास बैंकको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत ऋण सहयोग र पाँच प्रतिशत स्थानीय जनताको लगानीमा उक्त आयोजना सम्पन्न गर्न लागिएको नगरपालिका प्रमुख पूर्ण केसीले जानकारी दिए ।

आयोजना स्थानीय सेवा प्रदायक संस्था लिवाङ बजार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले कार्यान्वयन गरिरहेको समितिका अध्यक्ष लीलाधर आचार्यले जानकारी दिए । दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता रहेको सो आयोजनाको ५० प्रतिशत भौतिक तथा वित्तीय प्रगति भएको आचार्यको भनाइ छ । ‘कोरोनाका कारण आयोजना प्रभावित हँुदा तोकिएको समयमा काम सम्पन्न हुन सकेन, अब तीव्रगतिमा काम हुन्छ’, आचार्यले भने ।

लामो समयदेखि कुवा, पोखरी तथा मूलको पानी पिउन बाध्य नगरवासी आयोजना सम्पन्नपश्चात शुद्धीकरण गरिएको पानी उपभोग गर्ने आशामा रहेको स्थानीय तुलसा केसीले बताइन् । नगर क्षेत्रमा खानेपानीको सही व्यवस्थापन नहुँदा घण्टौँ टाढाको खोला र पँधेरा पुगेर पानी ओसार्नुपर्ने बाध्यता रहेको केसीले बताइन् ।

त्यसैगरी गङ्गादेव गाउँपालिकाको ओतमा लिफ्ट प्रणालीबाट पश्चिम नेपाल ग्रामीण खानेपानी आयोजनाको सहयोगमा खानेपानी तथा सरसफाइ योजना सम्पन्न गरिएको थियो । सो आयोजनाबाट १५० घरधुरी लाभान्वित भएका थिए । आयोजना बन्नुपूर्व दुई घण्टा पैदलयात्रामार्फत पोखरीको पानी पिउने बाध्यता हटेको स्थानीय हिमाली खड्काले बताइन् ।

सुनिल स्मृति गाउँपालिका–३ मिझिङका स्थानीयवासीले समेत खानेपानीको समस्या भोग्दै आएको वडा नंं ३ का वडासदस्य तेजकुमारी विष्टले बताइन् । खानेपानीको चरम समस्या भोग्दै आएका उनीहरुका लागि प्रदेश सरकारले रु दुई करोड ५० लाख बजेट विनियोजन गरेको छ । आयोजनाको डिपिआर सम्पन्न भइसकेको र यसै वर्षदेखि काम शुरु हुने उनले जानकारी दिइन् ।

थवाङ गाउँपालिकामा समेत दुईवटा ठूला योजना शुरु गरिएको छ । आयोजनाका लागि रु ५० लाख बजेट विनियोजन गरी तीव्रताका साथ काम भइरहेको सो गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीले बताए । जिल्लाका लुङ्ग्री गाउँपालिको गुम्चाल, सुनछहरी गाउँपालिका, माडी गाउँपालिका तथा परिवर्तन गाउँपालिकाका स्थानीयवासीले समेत खानेपानीको समस्या भोग्दै आएका छन् ।

खानेपानी समस्या भोग्दै आएका जिल्लावासी समयमै आयोजना सम्पन्न हुने कुरामा भने आशङ्का व्यक्त गर्छन् । ‘मुहान विवाद, बजेट अभाव, निर्माण व्यवसायी र उपभोक्ता समितिको लापरवाहीले समयमै आयोजना नबन्ने हो कि भन्ने कुरामा ढुक्क हुनसकेका छैनौं’, रोल्पा–४ का मिलन मल्लले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७