विप्लव समूहका अर्थ विभाग प्रमुखसहित दुई जना पक्राउ


७ मंसिर २०७७, आईतवार
biplab khulamnch

काठमाडौं, ७ मंसिर । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय अर्थ विभागका प्रमुख एवम् पोलिटव्युरो सदस्य प्रेम दर्नाल (विकल्प) सहित दुई नेताहरुलाई पक्राउ गरेको छ । प्रहरीले नख्खु क्षेत्रबाट अर्थ विभागका प्रमुख दर्नाल र अर्थ विभाग सदस्य सन्जीव नेपाली (सुवर्ण) लाई पक्राउ गरेको हो ।

नख्खु क्षेत्रमा व्यवसायीहरुसँग बैठक बसिरहेको बेला उनीहरुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पुष्टि गरेका छन् । उनले शनिबार विज्ञप्ति जारी गरी आपराधिक र अपहरणकारी शैलीमा गिरफ्तार गरिएको भन्दै विनासर्त रिहा गर्न माग गरेका छन् ।

विप्लव समूहका प्रवक्ता प्रकाण्डले पार्टीको केन्द्रीय आर्थिक नीति र योजनाअन्तर्गत आर्थिक कार्यमा क्रियाशील उनीहरुलाई जबरजस्ती चन्दा असुली र धम्कीको मिथ्या अभियोग लगाइएको दाबी गरेका छन् । उनीहरूको गिरफ्तारीले राजनीतिक स्वतन्त्रता र मानवअधिकारको घोर उल्लङ्घन भएको विप्लव समूहको ठहर छ ।

प्रवक्ता विश्वकर्माले धम्कीपूर्ण भाषामा जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘निचतापूर्ण आक्षेप लगाउने, बदनाम गर्न कुचेष्टा गर्ने, झूट्टो मुद्दामा फसाउन अपराध गर्ने र शारीरिक तथा मानसिक यातना दिई कार्यकर्ताहरूको स्वास्थ्यमाथि खेलबाड गर्ने हर्कत गरियो भने उक्त कार्य पार्टीलाई कुनै पनि मूल्यमा स्वीकार्य हुने छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७