ओली–देउवा गोप्य भेटवार्ता, सता साझेदारीका लागि ओलीको प्रस्ताव


७ मंसिर २०७७, आईतवार
kp oli deuwa

काठमाडौं, ७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चरम उत्कर्षमा पुगिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग तीन घण्टा गोप्य भेटघाट गरेका छन् ।

पार्टीभित्रको विवाद बढेर फुटको संघारमा पुगेकै बेला प्रधानमन्त्री ओलीले संसद्को दोस्रो ठूलो दल कांग्रेसका सभापति देउवासँग गोप्य भेटवार्ता गरेका हुन् । भेटघाटमा प्रधानमन्त्री एवम नेकपा अध्यक्ष ओलीले सता साझेदारीको प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ ।

संवैधानिक नियुक्तिका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले बोलाएपछि शनिबार दिउँसो देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

करीब डेढ घण्टासम्म संवैधानिक निकायमा नियुक्ति र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भए पनि नेताहरूले भेटलाई गोप्य राखेका छन् । आफू निकट केन्द्रीय सदस्यहरूलाई लिएर बालुवाटार पुगेका देउवासँग प्रधानमन्त्री ओलीले बेग्लै छलफल समेत गरेका थिए ।

भेटमा ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत सहभागी थिए । स्रोतका अनुसार भेटका क्रममा प्रधानमन्त्री ओलीले देउवासँग सत्ता साझेदारीको प्रस्ताव गरेका छन् ।

कांग्रेस नेता रमेश लेखकले प्रधानमन्त्री ओली र सभापति देउवाबीच संवाद भएको पुष्टि गरेका छन् । ‘बाहिर हल्ला भएको जस्तो कुरा भएको होइन, आवश्यकताभन्दा बढी महत्व दिइएको हो,’ उनले भने । उनले संवाद भएको भए पनि के–के कुरा भएको भन्नेबारे खुलाउन चाहेनन् । यसअघि शुक्रबार साँझ कांग्रेस सभापति देउवासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेटेका थिए ।

लगत्तै प्रधानमन्त्री ओलीसँगको भेटलाई लिएर कांग्रेस नेताहरू नै आशंका व्यक्त गरिरहेका छन् । संवैधानिक आयोगमा ठूलो संख्यामा पदहरू रिक्त हुँदा समेत सरकारले लामो समयदेखि नियुक्ति गरेको छैन ।

संवैधानिक नियुक्तिका सम्बन्धमा प्रधानमन्त्री ओली र कांग्रेस नेता देउवाबीच पटक–पटक संवाद हुँदै आएको छ । कांग्रेस स्रोतका अनुसार सभापति देउवाले अख्तियार र निर्वाचन आयोगमा कांग्रेसलाई भाग दिनुपर्ने अडान राखेका छन् । भागबण्डाका विषयमा सहमति गर्न नेकपाका नेता सुवास नेम्वाङ र कांग्रेस नेता रमेश लेखकलाई जिम्मेवारी दिइएको छ ।
तर, पटक पटक छलफल हुँदा समेत संवैधानिक नियुक्तिका विषयमा सहमति भने जुटेको छैन ।

यसअघि पनि पार्टीको विवाद उत्कर्षमा पुगेकै वेला प्रधानमन्त्री ओलीले १७ असारमा कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका थिए । भेटमा कांग्रेसको तर्फबाट देउवा, रमेश लेखक र गोपालमान श्रेष्ठ थिए भने बालुवाटारको तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ्ग, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सामेल भएको स्रोतको भनाइ छ ।

कांग्रेस शीर्ष नेताहरुसँगको भेटघाटलाई नागरिक अगुवा, पत्रकार साथै विश्लेषकहरुले विभिन्नखाले टिप्पणीहरु गरिरहेका छन् । नेकपाभित्र विग्रह शुरु भएपछि सत्ता सहयात्राका लागि भेटवार्ता भएको पनि भनिएको छ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको नेकपा समूहसँग साझेदारी गर्नसक्ने सम्भावनाका संकेतहरु देखापरेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७