सत्ता गठबन्धनमा कांग्रेसको खोजी

सरकार गठनको अंक गणितमा कांग्रेसको भूमिका के हुन्छ ?


८ मंसिर २०७७, सोमबार
kp oli deuwa

काठमाडौं, ८ मंसिर । पार्टीभित्र दबाबमा परेका प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेससँग साझेदारीको प्रस्ताव गरेका छन् । शनिबार दिउँसो कांग्रेस सभापतिसँगको भेटमा प्रधानमन्त्री ओलीले आफ्नो पार्टी नेकपाभित्रको टकराव दुर्घटनाउन्मुख भएको निष्कर्ष सुनाउँदै नयाँ सहकार्यका लागि आग्रह गरेका हुन् ।

नेकपा सचिवालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले करिब एक दर्जन गम्भीर अभियोगसहित प्रस्ताव प्रस्तुत गरेपछि अर्का अध्यक्ष ओलीले आगामी १३ मंसिरमा जवाफी प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।

दुवै प्रस्ताव निर्णयार्थ प्रस्तुत भएमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा पनि ओली अल्पमतमा पर्ने अवस्था छ । ओलीले सकेसम्म संसदीय दलमा बहुमत पुर्‍याउने, दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेर नयाँ दल बनाउने र संसद् विघटन गर्नेसम्मको विकल्पमा परामर्श गर्दै आएका छन् ।

संसदीय दलमा बहुमत सिद्ध गरेमा ओलीको प्रधानमन्त्री पद सुरक्षित हुनेछ । तर, दलमा बहुमत नपुग्ने अवस्थामा उनले नयाँ दल सिर्जना गर्न सक्छन् जसका लागि उनले नयाँ गठबन्धन बनाउनुपर्नेछ ।

संवैधानिक आयोगमा नियुक्तिका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले बोलाएपछि शनिबार दिउँसो देउवा प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । देउवाले आफूसँगै रमेश लेखकलाई पनि लगेका थिए, खासमा कानुनी विषयमा पनि सहयोग पुग्छ भनेर देउवाले लेखकलाई लिएर हिँड्ने गरेका छन् ।

बालुवाटारमा प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सहभागी थिए । भेटको विषयमा कांग्रेस नेतृत्वले आफ्ना समूहका शीर्ष नेताहरूसँग विषयवस्तु साझा गरेका छन् । कांग्रेस स्रोतका अनुसार करिब डेढ घन्टा सामयिक राजनीति, संवैधानिक आयोग र विश्वविद्यालयसहितका विषयमा छलफल भएपछि ओलीले भनेका थिए, ‘म एकैछिन तपाईं (देउवा) सँग छुट्टै कुराकानी गर्न चाहन्छु ।’

ओलीको इसारा बुझ्नासाथ नेकपाका नेताहरू जर्‍याकजुरुक उठेर बाहिर निस्किएका थिए । उनीहरूसँगै कांग्रेस नेता रमेश लेखक पनि बाहिरिएका थिए । त्यही वेला कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की पनि बालुवाटार पुगेका थिए । तर, दुई जना मात्र भित्र बसेको र अरू सबै बाहिर भएकाले कार्की पनि उनीहरूसँगै बाहिरै बसेका थिए ।

बुढानीलकण्ठ पुगेपछि देउवाले आफ्नो समूहका नेताहरूसँग ओलीको प्रस्तावको विषयमा छलफल गरेका थिए । ‘खासमा नेकपाभित्रको विवादले वर्तमान सरकार अप्ठ्यारोमा छ, वामदेव (गौतम) को साथ पाए अझै पनि सरकार कायम रहन्छ ।

तर, तपाईं–हामी सँगै छौँ, आखिर एमसिसी जस्ता मुद्दामा पनि हामी सँगै छौँ, त्यसैले अबका दिनमा हामी सँगै छौँ भन्ने सन्देश तपाईंले दिनुपर्ने भयो,’ ओलीको प्रस्ताव उद्धृत गर्दै देउवाले नेताहरूसँग भनेका थिए । तर, यस्तो सन्देशको अर्थ के हुन्छ भनेर देउवाले ओलीलाई सोधेको पनि नेताहरूले बताएका छन् । ‘कांग्रेसले साथ दिन्छ भन्ने सन्देश गयो भने संसदीय दलमा बहुमत पु¥याउन मलाई सजिलो हुन्छ,’ ओलीको जवाफ थियो ।

संसदीय दलमा बहुमत पुर्‍याउन तपाईंलाई सजिलो हुँदा हामीलाई के फाइदा हुन्छ भनेर देउवाले सोझै सोधेका थिए । ओलीको जवाफ थियो, ‘सँगै जाँदा जे–जे फाइदा हुन्छ, सबै फाइदा कांग्रेसलाई पनि हुन्छ । सबै विषयमा साझेदारी गर्न सकिन्छ ।’

(सरकारसहित) सबै विषयमा साझेदारी गर्न सकिन्छ भन्ने ओलीको प्रस्तावमा के गर्ने भनेर देउवाले समूहका नेताहरूसँग छलफल पनि गरेका छन् । ‘तर, हामी कांग्रेस होइन, नेकपाभित्रको ओली गुटका सदस्य हुने भयौँ, यसरी फटाफट एक्सपोज हुँदा ओली पनि कमजोर हुन्छन्, हामी पनि कमजोर हुन्छौँ,’ निकट नेताहरूले देउवालाई भनेका छन् ।

कांग्रेस नेता रमेश लेखकले प्रधानमन्त्री ओली र सभापति देउवाबीच संवाद भएको पुष्टि गरे । ‘बाहिर हल्ला भएको जस्तो कुरा भएको होइन, आवश्यकताभन्दा बढी महत्व दिइएको हो,’ उनले भने । उनले दुई नेताबीचको संवादको विषयवस्तु भने खुलाउन चाहेनन् ।

तर, ओली र देउवाको भेटले कांग्रेसमा पनि तरंग ल्याएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले भने नेकपाको द्वन्द्वमा कांग्रेस नफस्ने स्पष्ट पारेका छन् । ‘कांग्रेसलाई जनताले पाँच वर्ष विपक्षमा बस्ने प्रस्ट जनादेश दिएका छन्, नेकपाको विवादमा कांग्रेस कुनै पनि भड्कावबाट टाढा छ, रहन्छ,’ उनले भने । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘यता या उताको जोड–घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँदछौँ ।’

नेता अर्जुननरसिंह केसीले भने अहिले कांग्रेसले सत्तामा जाने हतार गर्नु आत्महत्या गरेबराबर हुने बताएका छन् । ‘स्थिरता, समृद्धि र स्वर्ग लाने भ्रम छरेर भ्रष्टाचारमा डुबेकासँग फोहोरको भारी बोक्न संलग्न हुनु कांग्रेसका निम्ति आत्महत्या हुनेछ, टुट्नु, फुट्नु वा जुट्नु उनकै समस्या हो,’ उनले भनेका छन् ।

नेता गगन थापाले अहिलेको अवस्थामा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच भेटघाट हुनु अस्वाभाविक भएको प्रतिक्रिया दिए । ‘सामान्यतः सरकार र विपक्षी दलका नेताको भेट अस्वाभाविक होइन, तर संसद् नै ठप्प भएका वेला संसद् नखुलेसम्म भेट्दिनँ भनेर अडान लिनुपर्ने हो,’ उनी भन्छन्, ‘संसद् खुलाउन दबाब सिर्जना गर्नुपर्ने वेला जतिवेला बोलायो त्यतिवेला बालुवाटार पुग्नु उपयुक्त होइन ।’

नेकपामा विवाद हुँदा पार्टीभित्रका प्रतिपक्षीमाथि दबाब बनाउन प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेतासँग भेट्ने गरेका छन् । पार्टीभित्रै राजीनामा मागिएका वेला गत १७ असारमा पनि प्रधानमन्त्री ओलीले देउवासँग गोप्य भेट गरेका थिए । तर, सुइँकोसमेत नदिई प्रधानमन्त्रीले १८ असारमा संसद् अधिवेशन अन्त्य गराएपछि देउवा रन्थनिएका थिए ।

ओलीको नेतृत्वमा बलियो सरकार बनेको तीन वर्ष पुग्न लागेको छ, तर कतिपय संवैधानिक आयोग चार–पाँच वर्षदेखि रिक्त छन् । संवैधानिक आयोगमा नियुक्तिको विषयमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच गत एक वर्षमा दर्जनौं पटक भेट भएको छ ।

१३ वटा संवैधानिक अंगमध्ये हाल लोकसेवा आयोग र महालेखापरीक्षक मात्रै पूर्ण छन् भने राष्ट्रिय मानव अधिकार आयोग, आदिवासी तथा जनजाति आयोग, राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोग पूर्णतः पदाधिकारीविहीन छन् । मुस्लिम, मधेसी र थारू आयोगमा अध्यक्ष मात्रै नियुक्त भएका छन् भने समावेशी आयोगमा अध्यक्ष र तीन सदस्य नियुक्त भएका छैनन् । निर्वाचन आयोगमा दुई र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुखसहित तीनवटा पद रिक्त छन् ।

सरकार गठनको अंक गणितमा कांग्रेसको भूमिका के हुन्छ ?

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा सामान्य बहुमतका लागि एक सय ३८ सांसद चाहिन्छन् । तर, हाल प्रतिनिधिसभामा सभामुखसहित दुई सय ६९ जना सांसद कायम छन् । आजको दिनमा बहुमत भनेको एक सय ३५ सांसद हो । कांग्रेसका समानुपातिक सांसद सूर्यबहादुर केसीको मृत्युपछि नयाँ सांसद मोहन पाण्डेले सोमबार शपथ लिँदै छन् । यो अंकगणितलाई हेर्दा कांग्रेस (६१) सँग मिलेर सरकार बनाउन नेकपाका कुनै पनि समूहलाई ७४ सांसदको खाँचो हुन्छ ।

हाल एक सय ७३ सांसद रहेको नेकपामा दुवै समूहसँग कम्तीमा ७४ सांसद छन् । यद्यपि, आफूहरूसँग बढी सांसद भएको दाबी प्रचण्ड–माधव समूहको छ । तर, संसदीय दलमा आफ्नो पक्षमा पार्न ओलीको प्रयास पनि जारी छ ।

संसद्मा नेकपाका १७४ जना (हाल कायम १७३, सभामुखसहित एकको निधन), कांग्रेस– ६३ (अब कायम ६१, दुई निलम्बित), जनता समाजवादी पार्टी– ३४ (हाल ३२ कायम, दुई निलम्बित), राष्ट्रिय जनमोर्चा–१, नेपाल मजदुर किसान पार्टी– १, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)–१ र स्वतन्त्र–१ सांसद छन् । चार सांसद (विजय गच्छदार, रेशम चौधरी, अफताब आलम, हरिनारायण रौनियार निलम्बित छन् । नेकपाका एक सांसद (सानु शिवा) को मृत्यु भएको छ ।

पार्टीभित्रका पक्ष–विपक्षबीच भने संवाद ठप्प

ओलीले यसबीचमै संसदीय दलमा बहुमत जुटाउनेदेखि देशभर शक्ति सुदृढ गर्ने रणनीति अख्तियार गरेका छन्

प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीमा बेग्लाबेग्लै राजनीतिक दस्ताबेज छलफल गराउने तयारीमा जुटेसँगै उनीहरूबीचको संवाद ठप्प छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको पछिल्लो संकट समाधानबारे दुई अध्यक्षको तहमा कुनै पनि प्रकारको सम्पर्क र संवाद नभएको बताए । ‘उहाँहरूको तहमा अहिलेसम्म सम्पर्क र संवाद केही पनि भएको छैन, नयाँ विकासक्रम पनि केही छैन,’ श्रेष्ठले भने ।

तर, ओलीनिकट नेता कर्णबहादुर थापाले पार्टीभित्र जालझेल र दाउपेच भए प्रधानमन्त्रीबाट नसोचेको परिणाम आउने बताए । ‘बहस र अन्तर्संघर्षसँग डराउनु हुँदैन । गलत प्रवृत्तिलाई पराजित गर्दै सही कुरा समातेर अघि बढ्नुपर्छ । कुनै प्रकारको विभाजन समाधान होइन । केपी, माधव वा प्रचण्ड हटाउने कुरा पनि समाधान होइन । सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्दै अघि बढ्ने कुरा नै मुख्य हो । जालझेल, दाउपेच अन्त्य भएन भनेचाहिँ नसोचेको परिणाम आउन सक्छ,’ उनले भने ।

ओलीले यसबीचमै संसदीय दलमा बहुमत जुटाउनेदेखि देशभर शक्ति सुदृढ गर्ने रणनीति अख्तियार गरेका छन् । दोस्रो तहका निकट नेताहरूमार्फत प्रचण्डलाई ‘इन्गेज’ गराउने र प्रमुख प्रतिपक्षी कांग्रेससहित संसद्का अन्य दलसँगको संवाद पनि जारी राख्ने उनको कोशिस छ ।

गत शुक्रबार महासचिव विष्णु पौडेल र उपनेता सुवास नेम्वाङले प्रचण्डलाई भेटेर १३ मंसिरको बैठकपछि दुई अध्यक्षले संयुक्त प्रस्ताव तयार पारेर अघि बढ्नुको विकल्प नभएको भन्दै ध्यानाकर्षण गराएका थिए । उनीहरूले प्रचण्डलाई बेग्लै प्रतिवेदन फिर्ता लिन समेत आग्रह गरेका थिए ।

उता, महासचिव पौडेल, संसदीय दलका उपनेता नेम्वाङ, कृषिमन्त्री घनश्याम भुसाल, स्थायी कमिटी सदस्य जनार्दन शर्मा, ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुन, लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलगायत नेताले विभिन्न चरणमा अनौपचारिक संवाद गरेका छन् ।

उता, दोस्रो तहका नेताहरू हरिबोल गजुरेल, टोपबहादुर रायमाझी र देवेन्द्र पौडेललगायत नेताले आइतबार पनि प्रधानमन्त्रीसँग भेट गरेका छन् । उनीहरू लगातार प्रधानमन्त्री ओलीसँग संवादमा छन् । संसदीय दलमा अंकगणितको खेल हुँदा उनीहरूलाई आफ्नो कित्तामा ल्याउन सकिने प्रधानमन्त्री ओलीको विश्वास छ । उनीहरूले सोमबार प्रचण्डसँग भेट गर्ने योजना बनाएका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७