ओली–देउवा ‘खासखुस’ पछि कांग्रेस प्रवक्ताले भने, ‘नेकपाको किचलोमा कांग्रेस फस्दैन’


८ मंसिर २०७७, सोमबार
bishwoprakash

काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्तालाई लिएर विभिन्न अड्कलबाजी चलिरहेका बेला कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको द्वन्द्वमा कांग्रेस नफस्ने बताएका छन् ।

कांग्रेसलाई नागरिकले पाँच वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश दिएकाले कुनै पनि भड्कावबाट टाढा रहेको उनले स्पष्ट पारेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्– भ्रम : ‘कोही कसैलाई केही छ भने ! ५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई । अतः कुनै पनि भड्कावबाट टाढा छौं, रहनेछौं । नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष छौं । अतः यता या उताको जोड घटाउमा कांग्रेसको शीर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँदछौंँ, जय नेपाल !’

सत्तारुढ नेकपाभित्रको विवाद बढिरहँदा शनिबार ओली र देउवाबीच बालुवाटारमा भेट भएको थियो । भेटबारे दुवै पक्षले केही खुलाएका छैनन् । तर दुई शीर्ष नेताबीच सत्ता साझेदारीको विषयमा कुराकानी भएको अड्कलबाजी गरिएको छ । पार्टी विभाजन भएमा ओलीले कांग्रेससँग मिलेर सरकार चलाउने तयारी गरेको चर्चा चल्दै आएको छ ।

नेकपामा आन्तरिक विवाद चुलिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवाबीच शनिबार भएको भेटघाटलाई लिएर राजनीतिक बजारमा विभिन्न अड्कलबाजी शुरु भएको छ ।

bi

प्रधानमन्त्री र विपक्षी दलका नेता भेट्नु नौलो नभए पनि सत्तारूढ दलभित्र विवाद चुलिएका बेला भेट भएको हो । ओली र देउवा पक्षका नेताहरूले भेटबारे स्पष्ट खुलाएका छैनन् । भेटमा नेकपा नेता सुवास नेम्वाङ, कांग्रेस नेता रमेश लेखक पनि सहभागी दिए । उनीहरूले नियमित रूपमा हुने भेटकै निरन्तरता भनेका छन् ।

नेकपा वृत्तमा ओलीले पार्टी फुटिहाल्यो भने देउवासँग सत्ता साझेदारी गर्न कुरा गरेको आशंका गरिएको छ । कांग्रेस वृत्तमा भने नेकपा विवादमा ओलीलाई साथ दिएर संवैधानिक नियुक्तिहरूमा देउवाले हिस्सा लिन खोजेको आशंका गरिएको छ । यसअघि पनि देउवाले संकटमा ओलीलाई ढाडस दिएर आफ्नो दुनो सोझ्याउन गरेको आरोप कांग्रेसभित्रै लाग्दै आएको छ ।

ओलीसँग शनिबार भएको भेटमा बाहिर आए जस्तो सत्ता साझेदारीको विषयमा कुरा नभएको उनका स्वकीय सचिव भानु देउवाले बताएका छन् । स्वकीय सचिव देउवाका अनुसार बालुवाटारमा प्रधानमन्त्री ओलीसँग विश्वविद्यालयका उपकुलपति नियुक्तिलगायतका विषयमा कुरा भएको थियो । लामो समयदेखि थाती रहेको संवैधानिक आयोगहरूको नियुक्तिबारे पनि कुराकानी भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७