चकलेट किन्न पसल गएकी ६ बर्षीया गुलाव साहकाे हत्या, बाेरामा भेटियाे शव
बलात्कारपछि हत्या गरिएको भन्दै बर्दिबासमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग ठप्प

महोतरी, ९ मंसिर । महोत्तरीको बर्दिबासमा एक ६ वर्षीयाको शव बोरामा हालेर फालिएको अवस्थामा फेला परेको छ ।
गएको आइतबार महोत्तरीको बर्दिबास–१४ शुभम् बस्तीका सहीद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुन बेपत्ता भएकी थिइन् । उनको शव सोमबार राति फेला परेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी राजन चापागाईंले जानकारी दिएका छन् ।

बलात्कारपछि बालिकाको हत्या भएको स्थानीयको आशंका छ । हत्या गरेर बोरामा हालेर झाडीमा फालेको अवस्थामा बालिकाको शव फेला परेको हो । घर नजिकै रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ अवस्थित विनोद साहको खाली जग्गामा बालिकाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।
बालिका हत्याको विरोधमा स्थानीयले आज (मंगलबार) विहानदैदेखि पूर्व पश्चिम राजमार्गमा प्रदर्शन गरिरहेका छन् । मंगलबार बिहानैदेखि स्थानीयले सडकमा टायर बालेर गरेको प्रदर्शनका कारण पूर्व पश्चिम राजमार्ग ठप्प भएको छ ।
बालिकाको बलात्कार र हत्यामा संलग्न भएको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गौशाला–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी चपागाईले जानकारी दिएका छन् । साहले अपराध स्वीकार गरेका प्रहरीले जनाएको छ ।

घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या गरेको आशंका स्थानीयले गरेका छन् । तर, प्रहरीले भने पोष्टमार्टम रिपोर्टपछि मात्र बलात्कार भए–नभएको थाहा हुने जनाएको छ ।
आइतबार साँझ पसलमा चकलेट किन्न गएका बेला साहले बलिकालाई अपहरण गरेर घरमा लगेको र दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरेर हत्या गरेको आरोप स्थानीयले लगाएका छन् । बालिकाका बुवाले शहिद आलमले पनि आफ्नी छोरीको बलात्कारपछि हत्या भएको बताएका छन् ।
पसलेले अरुणले भने, ‘हत्या मैले गरेको हुँ’
बालिकाको हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका–५ घर भई बर्दिवासमा किराना पसल सञ्चालन गर्दै आएका अरुणकुमार साहलाई पक्राउ गरेको छ ।
२५ वर्षीय साह रक्सी पिएर सोमबार राति गौशाला–५ स्थित घर गएका थिए । उनले आफ्ना परिवारका सदस्यहरुसँग बालिकाको हत्या आफूले गरेको बताएका थिए । ‘यो कुराको जानकारी पाउना साथ हाम्रो टोलीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्यो,’ इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरीक्षक प्रकाश रेग्मीले भने, ‘उनले हत्या गरेको स्वीकारेका छन् ।’
चकलेट किन्न गएकी बालिकालाई लुकाएर साहले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले बलात्कार गरेर हत्या गरेका हुन् कि होइनन् भन्ने कुराको अनुसन्धान भने भइरहेको छ ।