सुखानी शहीद स्मृति उद्यानको विकासमा सरकारले सहयोग पुर्‍याउने छ : मन्त्री श्रेष्ठ


९ मंसिर २०७७, मंगलवार
sukhani yam magar

झापा, ९ मंसिर । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज बिहान झापाको अर्जुनधारास्थित सुखानी शहीद स्मृति प्रतिष्ठानको निरीक्षण गरेका छन् ।

निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको अनुगमनका लागि यहाँ आएका मन्त्री श्रेष्ठले प्रतिष्ठानको हाताभित्र रहेका सुखानीका पाँच शहीदको शालिकमा श्रद्धाञ्जली अर्पण गरे ।
उनले प्रतिष्ठानभित्र रहेको पर्यटकीयस्थल र कछुवा संरक्षण केन्द्रका बारेमा पनि जानकारी लिए ।

मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि झापा विद्रोह र सुखानीका शहीदको बलिदानी सदैव स्मरणीय भएको बताउँदै मन्त्री श्रेष्ठले सुखानी शहिद स्मृति उद्यानको विकासमा सरकारले सहयोग पुर्‍याउने आश्वासन दिए । सो अवसरमा प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरेले उद्यानको गुरुयोजना मन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

विसं २०२९ को झापा विद्रोहका क्रममा पक्राउ परेका कम्युनिष्ट युवा रामनाथ दाहाल, वीरेन राजवंशी, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई तत्कालीन पञ्चायती सरकारले झापाको चन्द्रगढी कारागारबाट कारागार सार्ने निहुँमा इलाम र झापाको सिमानास्थित सुखानी जङ्गलमा लगी गोली हानेर हत्या गरेको थियो ।

सुखानीमा बलिदान दिएका शहीदका स्मृतिमा झापाको अर्जुनधारा नगरपालिका वडा नं ९ सालबारीमा विशाल उद्यान, कछुवा संरक्षण केन्द्र र पाँच शहीदको पूर्ण कदको शालिकसहितको प्रतिष्ठान स्थापना गरिएको हो । प्रतिष्ठानको निरीक्षणपछि मन्त्री श्रेष्ठले सरकारका तर्फबाट थप सहयोग जुट्ने आशा पलाएको अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७