प्रहरीको गोली लागेर घाइते तीनमध्ये दुईलाई उपचारका लागि काठमाडौं पठाइयो

बर्दिवास, ९ मंसिर । महोत्तरीको बर्दिवासमा प्रहरीको गोली लागेर घाइते भएका तीन जनामध्ये दुई जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । मंगललबार दिउँसो प्रहरीको गोली लागेर गम्भीर घाइते भएका सञ्जय न्यौपाने र श्याम कार्कीलाई थप उपचारका लागि काठमाडौ पठाइएको हो ।
सञ्जयलाई हेलिकप्टरबाट र श्यामलाई एम्बुलेन्सबाट थप उपचारको लागि काठमाडौं पठाइएको हो । त्यस्तै सोही घटनामा घाइते अफताब आलमको बर्दिवासमै उपचार भइरहेको छ ।
मंलबार दिउँसो भिड नियन्त्रण लिने क्रममा प्रहरीले अश्रुग्याँस र गोली चलाउँदा उनीहरू घाइते भएका थिए । बर्दिबास नगरपालिका १४ को शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको थियो ।
गएको मंसिर ७ गते ६ वर्षीया बालिका बेपता भएकी थिइन् । सोमबार मध्यरातमा स्थानीय विनोद साहको खाली जग्गामा उनको शव भेटिएको थियो । प्रहरीले हत्याको आरोपमा गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ । आक्रोशित स्थानीयले हत्या आरोपित साहको घरमा आगो समेत लगाई दिएका छन् । टायर बालेर सडकमा प्रदर्शन गरेका स्थानीयले पूर्व पश्चिम राजमार्ग समेत बन्द गराएका थिए ।