नेकपाको भविष्य कठिन मोडमा : महासचिव पौडेल


१० मंसिर २०७७, बुधबार
Bishnu Prasad Paudel विष्णुप्रसाद पौडेल is a Nepalese politician He is now the General Secretary of NCP Nepal Communist Party.

बुटवल, १० मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको बताएका छन् । पार्टीभित्र यसअघिको भन्दा भिन्न खालको अन्तरविरोध रहेको उनको भनाइ छ ।

मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले यसपटकको विवाद कल्पना गरेको भन्दा पृथक् रहेको र मर्यादाको सीमा नाघेको समेत बताए । अभिव्यक्त र लिखतमा मर्यादाका सीमा नाघेको उल्लेख गर्दै उनले पार्टीभित्रको छलफल र बहसलाई मर्यादामा फर्काउनुपर्ने बताए ।

पार्टीभित्र अहिले मर्यादामा छलफल र बहसलाई फर्काउने कोशिस भइरहेको उनको भनाइ छ । पार्टीभित्रको विवाद हल गर्न विगतमा भूमिका खेल्दै आएका पौडेलले यसपटकको अन्तरविरोध बुझ्न नसकेको बताए । ‘पार्टीभित्र त्यस्तो के सुनामी आयो, भूकम्प, ज्वालामुखी फुट्यो नेकपा आज यसरी सार्वजनिक भइरहेको छ,’ उनले भने, ‘अन्तरविरोध हल गर्न म लागिपर्नेछु ।’

विगतमा स्थायी कमिटीबाट भएका निर्णय कार्यान्वयनतर्फ ध्यान नजाँदा यो स्थिति देखापरेको धारणा राख्दै उनले लिकबाट तल झर्न खोजेकालाई लिकमा चढाएर अगाडि बढाउने प्रयास भइरहेको बताए ।

राजधानीसँग मन्त्री पद नसाटेको भनाइ
बुटवलबाट निर्वाचित पौडेलले चुनाव प्रचारका क्रममा प्रदेशको स्थायी राजधानी बुटवल बनाउने प्रतिबद्धता जनाएका थिए । तर, प्रदेश राजधानी तोक्ने समयमा मौन बसेको र राजधानीसँग अर्थमन्त्री पद साटेको आरोप लागिरहेको वेला उनले सो आरोपको खण्डन गरे ।

चुनावको समयमा राजधानीका बारेमा अभिव्यक्ति दिएको भन्दै उनले सो विषय प्रदेश सभाले टुंग्याउने विषय भएको र प्रधानमन्त्रीले निर्णय गर्ने विषय भएकाले यो साट्ने विषय हुन नसक्ने बताए । उनले रुपन्देही, कपिलवस्तु र नवलपरासीको विकासमा लागिपर्ने समेत बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७