एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी


१० मंसिर २०७७, बुधबार

काठमाडौं, १० मंसिर । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकेको एक महिनाभित्र कक्षा १२ को परीक्षाफल प्रकाशित गर्न तयारी थालेको छ । हिजो मंगलबार पहिलो दिनको परीक्षा सम्पन्न भएलगत्तै बोर्डले एक महिनात्रित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी थालेको हो ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले २२ गतेभित्र सबै केन्द्रबाट उत्तरपुस्तिका परीक्षण गरी बोर्डमा पठाउन निर्देशन दिइसकेको जानकारी गराए । यो वर्ष विद्यालय आफैले उत्तरपुस्तिका परीक्षण गरी पठाउनुपर्ने व्यवस्था गरेको छ ।

४० पूर्णाङ्कको लिखित परीक्षा भएको र विद्यालयबाटै उत्तरपुस्तिका परीक्षण गरी पठाउने व्यवस्था भएका कारण एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्न सकिने अड्कल गरिएको अध्यक्ष प्राडा पौडेलले जानकारी गराए । उनले भने, ‘तोकिएको समयमा उत्तरपुस्तिका प्राप्त भए एक महिनाभित्र सजिलै परीक्षाफल प्रकाशित गर्न सक्छौं ।’ तर प्राविधिक र उत्तरपुस्तिका ढिलो आए केही ढिला हुन सक्ने बोर्डको आकलन छ ।

अध्यक्ष पौडेलले फरक जिल्लाका करिब १८ हजार विद्यार्थीको उत्तरपुस्तिका बोर्डले परीक्षण गर्नुपर्ने भएकाले केही ढिला हुन सक्ने बताए । बोर्डले फरक जिल्लाबाट परीक्षा दिएका विद्यार्थीको हकमा प्रदेश र शाखा कार्यालयबाट परीक्षा सकेको केही दिनमा उत्तरपुस्तिका पठाउन निर्देशन दिएको छ । तीबाहेक होम सेन्टरबाट परीक्षा दिएका विद्यार्थीको समस्या नपर्ने अड्कल बोर्डले गरेको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार परीक्षा सकिएको एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी थालेको जानकारी दिए । ‘परीक्षा सकेको विषयमा तत्काल परीक्षण गरी सबै विद्यालयलाई अंक पठाउन निर्देशन दिइसकेका छौं’, उनले भने ।

सबै प्रदेश कार्यालयलाई केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरी पठाउने व्यवस्था गर्न बोर्डले निर्देशन दिइसकेको छ । हिजो मंगलबारबाट शुरु भएको परीक्षा १६ गते सकिँदै छ । पहिलो दिनको परीक्षा शान्तरुपमा सन्पन्न भएको बोर्डले जनाएको छ ।

देशभरका ४ लाख ३२ हजार विद्यार्थी सहभागी भएको परीक्षा साढे १ घण्टाको थियो । परीक्षाको अनुगमन गर्न त्रिपुरेश्वरस्थित विश्वनिकेतन मावि पुगेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षाको व्यवस्थापन देखेर खुसी व्यक्त गरेका थिए । नेपाल समाचार पत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७