अफगानिस्तानको दुई स्थानमा बम बिस्फोट, १७ को मृत्यु, ५० घाइते


१० मंसिर २०७७, बुधबार
afghanistan bombing
AFGHANISTAN-BLAST/

काठमाडौं, १० मंसिर । अफगानिस्तानको बामियान सहरको व्यस्त बजारका दुई छुट्टा छुट्टै स्थानमा बम बिस्फोट हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

बिस्फोटमा परी ५० जना घाइते भएका छन् । सहरको व्यस्त भागमा गराइएको बिस्फोटमा परेर सुरक्षाकर्मी, ट्राफिक प्रहरी र केही सर्वसाधारणकोसमेत मृत्यु भएको स्थानीय प्रहरीहरुले जनाएका छन् । साँझको समयमा अल्पसंख्य समुदायको बाहुल्यता रहेको व्यस्त बजारमा बिस्फोटक पदार्थ भरिएका गाडी दुई छुट्टा छुट्टै स्थानमा बिस्फोट गराइएको आन्तरिक मन्त्रालयले जनाएको छ ।

बम बिस्फोट भएलगत्तै स्वयंसेवकहरुले मृतक र घाइतेको उद्धार गरी अस्पताल पुर्‍याएका थिए । बम बिस्फोटको हालसम्म कसैले जिम्मेवारी नलिएपनि लामो समयदेखि विद्रोह जारी राखेको तालिवानी समूहको संलग्नता हुनसक्ने सरकारी अधिकारीहरुले अनुमान गरेका छन् ।

तालिवानी विद्रोहीहरुले यसअघि पनि हजारौं सर्वसाधारणको हत्या गर्नुका साथै करोडौंका भौतिक संरचनाहरु ध्वस्त पारिसकेका छन् । सन् ९० को दशकयता विद्रोही तालिवानी र आइएसआइले अफगानिस्तान र पाकिस्तानलगायतका देशमा अल्पसंख्यक समुदायहरुमाथि लक्षित गरी कारवाही जारी राखेका छन् ।

जसका कारण काबुल सहरमा बारम्बार आक्रमण र विस्फोटका घटनाहरु भइरहेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार शान्ति सेनको प्रयासका बाबजुद पनि सरकारी सेना र तालिवानी लडाकूको शक्ति संघर्षका कारण यो वर्षको नौ महिनामा ६ हजार भन्दा बढी अफगान नागरिक मारिनकाु साथै घाइते भएका छन् ।

यसैबीच जेनेभामा भएको एक कार्यक्रमका सहभागीहरुले अफगानिस्तानको शान्ति प्रक्रियाका लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले सरकार र तालिवानी विद्रोहीबीचको दुई दशक लामो संघर्षको अन्त्य भएर शान्ति सम्झौता भए सो रकम सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७