चन्द्रागिरिले साधारण शेयर बिक्री गर्ने


१० मंसिर २०७७, बुधबार
IPO

काठमाडौं, १० मंसिर । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यसाथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ ।

सो कम्पनीले यही मंसिर १७ गतेदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले साधारण शेयर बिक्रीका लागि अनुमति समेत प्रदान गरिसकेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीलाई शेयर बिक्री गर्ने भएको छ । विवरणअनुसार पहिलो चरणको साधारण शेयर बिक्री छिटोमा आगामी पुस १ गतेसम्म र ढिलोमा आगामी पुस १६ गतेसम्म हुनेछ ।

कम्पनीले आयोजना प्रभावितका लागि प्रति शेयर रु १०० का दरले तीन लाख छ हजार ८१९ कित्ता बिक्री गर्नेछ । आयोजना प्रभावित क्षेत्रमा काठमाडौँ जिल्लाअन्तर्गत चन्द्रागिरि नगरपालिका ३, ४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गाविसको वडा नं ३, ४, ५, ६, ७, ८ एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं ९ र १० रहेका छन् ।

बिक्री प्रबन्धकका अनुसार कम्पनीको साधारण शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम तीन हजार ६० कित्तासम्म आवेदन दिन सकिनेछ । यस्तै दोस्रो चरणमा आम सर्वसाधारणका लागि १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्री गरिनेछ । कम्पनीले सर्वसाधारण र स्थानीयवासीलाई गरी कूल १८ लाख ४० हजार ९१० कित्ता सेयर बिक्री गर्नेछ ।

धितोपत्र बोर्डबाट कम्पनीले रु १८ करोड ४० लाख बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति पाएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्याटिल रहेको छ । साधारण शेयर बिक्री पछि कम्पनीको कूल चुक्तापूँजी रु रु एक अर्ब ५३ करोड पुग्नेछ । कम्पनीमा ८८५ जनाको संस्थापक लगानी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७