‘सधैं विरोध, आलोचना र नकारात्मक सन्देश फैलाउने समाचारले समृद्ध समाज निर्माणमा अवरोध गर्छ’

दोलखा, ११ मंसिर । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नकारात्मक भन्दा समाजलाई प्रेरित गर्ने खालका समाचार सम्प्रेषणमा सञ्चार माध्यमले ध्यान दिनुपर्ने बताएका छन् ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सधैँ विरोध, आलोचना र नकारात्मक सन्देश फैलाउने खालका समाचारले सभ्य र समृद्ध समाज निर्माणमा अवरोध ल्याउने चर्चा गरे ।
दोलखाली पत्रकारसँग बुधबार आयोजित भेटमा मन्त्री गुरुङले भने, ‘तथ्यहीन समाचारले समाजलाई विग्रहको बाटोतर्फ समेत लैजाने खतरा रहन्छ । त्यसतर्फ सञ्चारमाध्यम सचेत हुनुपर्छ ।’
मन्त्री गुरुङसँग नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीको नेतृत्वमा दोलखाली पत्रकार समूूहले भेटघाट गरेको जानकारी मन्त्री गुरुङका प्रेस संयोजक सन्तोष खड्काले दिए । मन्त्री गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित र जिम्मेवार बनाउने गरी सञ्चार नीति ल्याउने सोच मन्त्रालयले अघि सारेको चर्चा गर्दै त्यसका लागि सुझाव दिन पनि सम्बद्ध सबै पक्षलाई आह्वान गरे ।
उनले इन्टरनेट सेवालाई सर्वसुलभ, गुणस्तरीय र सबैको पहुँचमा पुर्याउने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताए । फेसबुक, ट्विटर, भाइबर लगायतका सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउने योजना समेत रहेको जानकारी उनले दिए । भेटमा पत्रकारले कोभिड–१९ बाट प्रभावित श्रमजीवी पत्रकारलाई उचित राहतको व्यवस्था गर्न मन्त्री गुरुङसँग माग गरेका थिए । गोरखापत्र दैनिकबाट