काठमाडौं आउँदै गरेको जीप त्रिशूली नदीमा खस्दा आमाछोरीसहित तीन बेपता

काठमाडौं, ११ मंसिर । काठमाडौं आउँदै गरेको जीप आज (बिहीबार) बिहान त्रिशूली नदीमा खस्दा आमा छोरीसहित तीन जना वेपत्ता भएका छन् ।
प्युठानबाट काठमाडौं आउँदै गरेको लु १ च ९७३१ नम्बरको जीप बिहीबार बिहान मुग्लिनभन्दा करिब दुई किलोमिटर वर त्रिशूली नदीमा खसेको हो ।
जी नदीमा खस्दा गाडीका चालक सूर्य केसी, गाडीमा सवार प्युठानको झिम्रुक गाउँपालिका–५ खहरेकी जमुना रोका र उनकी ११ वर्षीया छोरी बेपत्ता भएको जमुनाका भाइ शरद रोकाले जानकारी दिएका छन् । जमुनाका श्रीमान मुकुन्दराज रोका भने नदीबाट पौडी खेलेर बाहिर निस्कन सफल भएको उनले जानकारी दिए ।
रोका राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष हुन् । छोरीको उपचारका लागि रोका दम्पति बुधबार राति काठमाडौं आउँदै थिए । पत्थरीको अप्रेसन गरेकी ११ बर्षीया बालिकामा इन्फेक्सन भएपछि थप उपचारका लागि रोका दम्पती काठमाडौं आउन लागेको जनाइएको छ ।
रोकालाई प्रहरीले उद्धार गरी उपचारका लागि पठाएको छ भने बेपत्ताको खोजी गरिरहेको छ । घटनाबारे थप विवरण संकलनको काम भइरहेको छ ।