त्रिशूली जीप दुर्घटना : चालक र महिलाको शव निकालियो, बालिकाको खोजी चल्दै

काठमाडौं, ११ मंसिर । काठमाडौं आउँदै गरेको जीप त्रिशूली नदीमा खसेर वेपत्ता तीन जनामध्ये दुई जनाको शव निकालिएको छ ।
आज (बिहीबार) बिहानै मुग्लिन नजिक त्रिशूली नदीमा जीप खस्दा बेपत्ता तीन जनामध्ये चालक र एक महिलाको शव निकालिएको चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नान्तीराज गुरुङले जानकारी दिएका छन् । गाडीसँगै वेपत्ता भएका तीन जनामध्ये अहिले भर्खर यात्रु महिलापछि गाडी चालकको शव पनि निकालिएको हो ।
अहिले एक बालिकाको शव भेट्न खोजिभइरहेको छ । ‘चालक र यात्रु महिलाको शव गाडीभित्रै भेटिएको हो,’ गुरुङले भने, ‘अब बालिका (ती महिलाकी ११ वर्षीया छोरी) पत्ता लाग्न बाँकी छ ।’
प्युठानबाट काठमाडौं आउँदै गरेको लु १ च ९७३१ नम्बरको जिप बिहीबार बिहान मुग्लिनभन्दा करिब २ किलोमिटर वर त्रिशूलीमा खस्दा आमाछोरीसहित तीन जना बेपत्ता भएका थिए । तीमध्ये प्युठानको झिम्रुक गाउँपालिका–५ खहरेकी जमुना रोका र जीप चालक सूर्य केसीको शव भेटिएको हो ।