दुई वर्षपछि चामल ढुवानीको प्रक्रिया शुरु


११ मंसिर २०७७, बिहीबार
chamal

जाजरकोट, ११ मंसिर । विगत दुई वर्षदेखि रोकिएको खाद्यान्न ढुवानी कार्य उपल्लो डोल्पामा बल्ल शुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेशले उपल्लो डोल्पामा खाद्यान्न ढुवानीका लागि बोलपत्र निकालेर ठेक्का लगाएपछि चामल ढुवानी कार्य अगाडि बढेको हो ।

उपल्लो डोल्पामा हिमपात शुरु हुनुभन्दा पहिला नै त्यहाँ खाद्यान्न ढुवानी कार्य पूरा गरिने बताइएको छ । पटक पटक खाद्यान्न ढुवानीका विषयमा समाचार प्रकाशित हुँदै आएको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले माथिल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र सेफोक्सुन्डो गाउँपालिकामा चामल ढुवानीका लागि ठेक्का लगाएको छ ।

तीन वटै स्थानीय तहमा एउटै ठेकेदार कम्पनीले ढुवानीको जिम्मा पाएको छ । सुर्खेतदेखि स्थलमार्ग भएर डोल्पामा चामल ढुवानी गरी सम्बन्धित स्थानीय तहमा पुर्याइने कम्पनीको डोल्पा शाखा प्रमुख कमलराज पाण्डेले बताए ।

बोल–कबोलका आधारमा दिनेश निर्माण सामग्री सप्लायर्स बाँकेले खाद्यान्न ढुवानीको जिम्मा पाएको छ । सप्लायर्सले सुर्खेतदेखि डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धो, छार्काताङसोङको ढारगाउँ र से फोक्सोण्डो कोसाल्दाङसम्म चामल ढुवानी गर्ने छ ।

कम्पनीले धोसम्म प्रतिक्विन्टल रु आठ हजार ४८०, ढारगाउँसम्म रु नौ हजार ४९० र साल्दाङसम्म रु १० हजार ९९५ मा चामल ढुवानी हुने जनाएको छ । गत आर्थिक वर्षभरि डोल्पामा अनुदानको चामल ढुवानी भएन भने कोरोनाका कारण थप समस्या भएको थियो । गत वर्षसम्म चीनबाट चामल ढुवानी हुन्थ्यो । कोरोना महामारीका कारण चीनले सीमा नाका बन्द गरेको छ ।

यसअघि कम्पनीले काठमाडौंबाट सोझै चामल ढुवानी गर्दै आएको थियो । चीनतर्फको नाका बन्द भएपछि स्थलमार्गबाट पहिलोपल्ट चामल ढुवानी हुन लागेको हो । शाखा प्रमुख पाण्डेले केही दिनमै डोल्पामा खाद्यान्न पुग्ने बताए ।

उनका अनुसार सस्तो चामल प्रतिक्विन्टल रु चार हजार ९०० र महँगो चामल रु छ हजार ६०० मा उपभोक्ताले किन्न पाउने छन् । हाल स्थानीयवासीले बजारबाट प्रतिक्विन्टल रु १२ देखि २० हजारसम्ममा किनेर चामल उपभोग गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७