सरकार मनको गरीब छैन : प्रधानमन्त्री

‘निजी क्षेत्रको सफलता नै सरकारको सफलता’


११ मंसिर २०७७, बिहीबार
KP sharma oli pm of nepal scaled

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको सफलता नै सरकारको सफलता भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भन्दा धेरै काम निजी क्षेत्रले गरेको बताएका छन् । धनको गरीब भए पनि सरकार मनको गरीब नरहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारसँग निजी क्षेत्रले डराउनु नपर्ने बताएका छन् । बालुवाटारमा बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रले सरकारको भन्दा धेरै काम गरेको भन्दै प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘पायोनियरका रुपमा निजी क्षेत्रले कामहरु सरकारले भन्दा राम्रो गरेको छ । नयाँ कारोबार क्षेत्र पत्ता लगाउने र त्यसलाई अघि बढाउने काम निजी क्षेत्रले गरेको छ ।’
निजी क्षेत्रको सफलता नै सरकारको सफलता भएको बताउँदै प्रधानमन्त्री ओलीले अगाडि भने, ‘यहाँहरुलाई सफलता बनाउन सरकारले सहयोग गर्छ ।’

प्रधानमन्त्री ओलीले कोरोनाका कारण देशको अर्थतन्त्र निकै नराम्रो अवस्थामा पुगेको र यसको पुनरुत्थानमा निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण हुने बताएका छन् । धेरै देशहरुले कोरोना पछि निजी क्षेत्रका लागि निकै आकर्षक राहत दिए पनि नेपाल सरकारले आर्थिक अवस्थाका कारण दिन नसकेको उनले स्वीकारे ।

तर, सरकार धनको गरीब भए पनि मनको गरीब भने नभएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘उद्योगी व्यवसायी साथीहरुले कुरा उठाउनु भएको छ । कतिवटा देशले उद्योगको पुनरुत्थानका लागि धेरै पैसा दियो नेपाल सरकारले किन दिएन ? भन्ने कुराहरु उठेका छन्’ प्रधानमन्त्रीले थपे, ‘यो सरकार मनको गरीब होइन, फाइनान्सियल अवस्था तपाईहरुलाई थाहा नै छ ।’

उद्योगीहरुलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई सवल बनाउन ऐन, नियम बनाउने लगायतका सहयोगका कामहरु सरकारले गर्ने बताए । उनले सरकारसँग धेरै बचत नभएका कारण चाहेर पनि धेरै सहयोग गर्न नसकेको बताएका छन् ।

‘सरकारले गच्छे भन्दा एक कदम अगाडि बढेर तपाईहरुलाई साथ सहयोग गर्न हात बढाउनेछ, हामीसँग रिजर्भ सेभिङ्ग छैन’ प्रधानमन्त्रीले भने, ‘हामीले फेरि पनि साझा प्रयासबाट हाम्रो अर्थतन्त्रलाई अघि बढाउनुपर्छ । हाम्रा प्रयासहरु यसमा केन्द्रित छन् ।’

प्रधानमन्त्री ओलीले दलाल पुँजीवाद र पुँजीवादको समेत चर्चा गर्दै राष्ट्रका निम्ति उत्पादन गरिहेका, राष्ट्रका निम्ति रोजगारी दिइरहेका र कर तिरिरहेका सबै उद्योगी व्यवसायीहरु राज्यका लागि समान हुने बताए ।

‘दलाल पुँजीवाद, नवउदारवादलाई प्रधानमन्त्रीले प्रश्रय दियो, पुँजीवादीलाई प्रश्रय दियो भनेर उद्योगी व्यवसायीहरुलाई त्रसित बनाउने अभिव्यक्ति आएर तपाईहरुलाई नराम्रो लागेको हुन सक्छ’ प्रधानमन्त्री ओलीले उद्योगीहरुलाई आश्वस्त पार्दै भने, ‘म तपाईहरुलाई प्रष्ट पार्न चाहन्छु, उद्योगी व्यवसायीहरु मेरो वा तेरो होइन । राष्ट्रका निम्ति उत्पादन गरिहेका, राष्ट्रका निम्ति रोजगारी दिइरहेका, कर तिरिरहेका, राज्यका लागि काम गरिहेका सबै राज्यका लागि समान छन् । राज्यले सबैलाई कानुनसम्मत ढंगले संरक्षण र सुरक्षा दिन्छ ।’

साधारणसभा उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै महासंघकी अधयक्ष भवानी राणाले कोरोनाको कारणले धेरै उद्योगी व्यवसायी मारमा परेको र उद्योग व्यवसायको कसरी उत्थान गर्ने भन्ने नै महासंघको अबको अवधारणा हुने र हुनुपर्ने बताइन् ।

यो साधारण सभाले नयाँ नेतृत्व चयन गर्दैछ । त्यसमा लोकत्रान्त्रिक पद्धतिबाट निर्वाचन हुनलागेका र निर्वाचनपछि महासंघको नेतृत्वमा आउने सबैले आपसी सहयोगमा काम गर्नुपर्ने अध्यक्ष राणाको भनाइ छ ।

उनले भनिन्, ‘जुनसुकै प्यानलबाट निर्वाचित भए पनि निर्वाचनपश्चात् भने हातेमालो गर्नुपर्ने हुन्छ ।’ आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई उनले धन्यवाद पनि दिएकी थिइन् ।
महासंघको यो साधारणसभाले वरिष्ठ उपाध्यक्ष, वस्तुगत र एसोसिएटतर्फका ३ उपाध्यक्षसहित १८ जना खुल्लातर्फका १८ जनासहित संस्थापकमध्येबाट १, प्रदेशबाट ७ तथा वस्तुगततर्फबाट १४ र एसोसिएटबाट १९ जना केन्द्रीय सदस्य छान्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७