दलाल पूँजीवाद र नवउदारवादी पूँजीवादलाई प्रश्रय दिएको आरोप भ्रमपूर्ण : प्रधानमन्त्री


११ मंसिर २०७७, बिहीबार
nubmss

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दलाल पूँजीवाद र नवउदारवादी पूँजीवादलाई प्रसय दिएको भन्ने आरोप भ्रमपूर्ण भएको बताएका छन् ।

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५४औैं वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही समूहले सरकारले दलाल पूँजीवाद र नवउदारवादी पूँजीवादलाई प्रश्रय दिएको र उद्योगी–व्यवसायीलाई विभाजित गर्‍यो भन्ने आरोप लगाएको भन्दै त्यस्ता अभिव्यक्ति भ्रमपूर्ण रहेको बताएका हुन् । त्यस्ता अभिव्यक्ति सुनेर दुविधामा नपर्न समेत प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई आग्रह गरे ।

देशको निम्ति काम गर्ने, कर तिर्ने र रोजगारी सिर्जना गर्ने उद्योगी–व्यवसायीहरु राष्ट्रका साझा सम्पत्ति भएको उनले बताए । सरकारको नजरमा सबै उद्योगी–व्यवसायी समान भएको उनको भनाइ छ ।

उनले राज्यले सबैलाई कानुनसम्मत् ढंगले संरक्षण प्रदान गर्ने र सुरक्षा दिने काम गर्ने प्रष्ट पारे । राज्यले उद्योगी–व्यवसायीहरुसँग सधैं कारोबारमा पारदर्शीता कायम गर्न मात्रै आग्रह गरेको पनि प्रधानमन्त्री ओलीले बताए ।

सरकार राष्ट्रिय पूँजी, राष्ट्रिय उद्योग र राष्ट्रिय पूँजीपतिहरुलाई सबल बनाउने पक्षमा रहेको उनले बताए । राष्ट्रिय पूँजी, उद्यमी र पूँजीपतिहरुलाई विकास गर्न नसक्दा वैदेशिक लगानी खोज्नुपर्ने बाध्यता भएको पनि उनले बताए ।

देशमा पूँजी निर्माण गरी बाह्य देशमा लगानी नगर्न समेत उनले आग्रह गरे । उनले देशमा लगानीको अवसर सिद्दिएको नभइ झन् बढेको भन्दै देशभित्रै लगानी बढाउन सुझाव दिए । अहिले पनि देशभित्र उपभोग हुने अधिकांश वस्तु आयात गर्नुपर्ने भएकाले त्यसलाई प्रतिस्थापन गर्न पनि उत्पादन बढाउने क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

कोभिड–१९ का कारण नागरिक, निजी क्षेत्र र सरकार सबैलाई कठिनाइ परेकोले मिलेर सामना गर्नुको विकल्प नरहेको पनि प्रधानमन्त्री ओलीले बताए । सरकार मनको गरिब नभई आफ्नो क्षमता र गक्षअनुसार उद्यमी–व्यवसायीहरुलाई सघाएको बताए ।

उनले गच्छेभन्दा एक कदमअगाडि बढेर सरकारले सहयोग गरे पनि बचत नभएका कारण त्यो थोरै हुने बताए । तर पनि सबै पक्ष मिलेर एकसाथ नहिँडे अर्थतन्त्रलाई जोगाउन कठिन हुने उनको भनाइ छ ।

‘राहत प्याकेज छिटो उपलब्ध गराउन ध्यान जानुपर्छ’
कार्यक्रममा उद्योगी–व्यवसायीहरुले भने कोरोनाका कारण अर्थतन्त्र र व्यवसायी दुःखमा भएको बताएका थिए । बजेटमा ल्याइएको सहुलियत कर्जाको कार्यविधि ढिलो आउँदा समेत उद्योग–व्यवसायलाई निरन्तरता दिन कठिनाइ भएको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए ।

उद्योग–व्यवसायलाई निरन्तरता दिन पुँजीको अभाव भएकाले घोषणा भएका राहत प्याकेज छिटो उपलब्ध गराउन सरकारको ध्यान जानुपर्ने गोल्छाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७