पार्टी फुटाउनबाट ओलीलाई रोक्दै आएका हौं, फेरि पनि रोक्छौं : प्रचण्ड

‘नेकपाभित्रको विवाद पार्टीलाई कम्युनिष्ट बनाउने कि ‘बुर्जुवा’ अवस्थामा छाड्ने भन्ने हो’


११ मंसिर २०७७, बिहीबार
Prachanda

काठमाडौं, ११ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाभित्रको विवाद अर्का अध्यक्ष केपी शर्मा ओली र आफ्नो नभई पार्टीलाई कम्युनिष्ट पार्टी बनाउने कि बुर्जुवा अवस्थामा छाड्ने भन्ने वहस भएको बताएका छन् ।

बाहिर आफ्नाबारेमा पनि विभिन्न टीकाटिप्पणी हुने गरेको बताउँदै अध्यक्ष प्रचण्डले बाहिर हेर्दा नेकपाभित्रको विवाद दुई अध्यक्षको जस्तो देखिए पनि खासमा यो नयाँ विचार र संश्लेषणको अन्तर संघर्ष भएको बताएका छन् ।

प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पार्टीमा फुट ल्याउने गरी नआउने बताएका छन् ।

बिहीबार आफूलाई भेट्न खुमलटारस्थित निवास पुगेका केही स्थायी र केन्द्रीय सदस्यसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अहिले पार्टी फुटाउने गरी ओलीले राजनीतिक प्रतिवेदन नल्याउने विश्वासमा आफूहरु रहेको बताएका हुन् ।

उनले १३ गतेको बैठकमा ओलीले पनि प्रतिवेदन ल्याउने र दुवै प्रतिवेदनलाई तल्लो तहमा छलफलका लागि पठाएपछि त्यसबाट नयाँ पार्टी निर्माणको क्रम शुरु हुने बताएको एक स्थायी समिति सदस्यले जानकारी दिएका छन् ।

‘ओलीले यसअघि पनि पटक–पटक पार्टी फुटाउने कोशिस गर्नु भएकै थियो’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, ‘कहिले अध्यादेश, कहिले निर्वाचन आयोगमा एमाले पार्टी दर्ता त कहिले जबजका नाममा उहाँले फरक पार्टी बनाउने प्रयास गर्दै आउनु भएको छ ।’

अध्यक्ष प्रचण्डले आफूहरु पार्टी फुटाउने अभियानमा नरहेको बरु ओलीको पार्टी फुटाउका लागि चाल्दै आएका कदमलाई रोक्दै आएको दावी गरे । ‘हामी पार्टी एकढिक्का भएर अगाडि बढोस् भन्नेमा छौँ’, उनले भने, ‘ हामी त पार्टी फुटाउन खोज्ने उहाँ (ओली) का कदमलाई रोक्दै आएका हौं र फेरि पनि रोक्छौं’, उनले थपे ।

उनले प्रधानमन्त्री ओलीले पार्टी फुटेको अवस्थामा नेपाली जनतामा नैरास्यता आउँछ भन्ने कुरालाई राम्रोसँग बुझेका कारण पनि तत्काल पार्टी भने नफुट्ने बताएका छन् ।

नेकपामा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित बहुमत सदस्यका तर्फबाट प्रचण्डले सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्तावमाथि छलफल र प्रधानमन्त्री ओलीले त्यसको जवाफसहित तयार पारेको प्रतिवेदन १३ गते बस्ने सचिवालय बैठकमा पेस हुँदैछ ।

अध्यक्ष प्रचण्डले आफूले राजनीतिक प्रतिवेदन तल्लो तहमा पठाएर नेता कार्यकर्तालाई पार्टीभित्रको अन्तर संघर्ष के विषयमा छ भन्ने देखाउन खोजेको पनि बताएका छन् । ‘ओलीजीको प्रतिवेदन पनि आएपछि यसैगरी तल्लो कमिटीमा पठाइन्छ र छलफल गराइन्छ’, उनले भने । मंसिर ३ गते बसेको सचिवालय बैठकपछि ओली र प्रचण्डबीच संवाद भएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७