सुदूरपश्चिमका पाँच जिल्लामा ४३१ नयाँ क्षयरोगी भेटिए


१२ मंसिर २०७७, शुक्रबार
charogi 1

कञ्चनपुर, १२ मंसिर । सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा एक वर्षको अवधिमै ४३१ नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७६–७७ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र अछाम जिल्लामा गरिएको सम्पर्क परीक्षणबाट नयाँ क्षयरोगका बिरामी फेला परेका हुन् ।

क्षयरोगको सङ्क्रमण भएका एक हजार ५०० परिवारको सम्पर्कमा रहेका व्यक्तिको खकार जाँच गर्दा नयाँ क्षयरोगी पत्ता लागेको स्वास्थ्य निर्देशनालय राजपुरका किटजन्य अधिकृत हेमराज जोशीले बताए । उनका अनुसार सोही अवधिमा ३०० व्यक्तिको खकारको नमूना सङ्कलन गरी जाँच गर्ने स्थानमा पुर्‍याइएको थियो ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन ग्लोबल फण्डको रकम सहप्रापक संस्थाले गरेको काम सराहनीय रहेको बताए । ‘सुदूरपश्चिम क्षेत्रमा एक वर्षको अवधिमै ४३१ नयाँ बिरामी पत्ता लाग्नु प्रभावकारी कार्य हो’, उनले भने, ‘यसले लुकेर बसेका क्षयरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा आएका छन् । क्षयरोगको उपचार सेवा लिन सकेका छन् ।

यसले समयमै उपचार प्राप्त गरी निको हुन्छन् । अन्य क्षेत्रमा क्षयरोगको सङ्क्रमणसमेत हुन पाउँदैन ।’ आगामी दिनमा समेत लुकेर बसेका क्षयरोगीको खोजी गरी स्वास्थ्य संस्थाको सम्पर्कमा ल्याउने कामलाई निरन्तररूपमा अगाडि बढाउनुपर्ने उनले बताए ।

लुकेर बसेका क्षयरोगी पत्ता लागेका कारणले बिरामी चाँडै निको हुने, बिरामीको स्वास्थ्य अवस्था खराब हुनबाट बच्न सकिने, अकालमा हुने मृत्युबाट जोगाउन सकिने र सबभन्दा सबल पक्षका रूपमा अन्य व्यक्तिलाई रोग सर्नबाट बचाउन सकिने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७