गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउ


१२ मंसिर २०७७, शुक्रबार
pakrau
फाइल फोटो

उदयपुर, १२ मंसिर । पाँच दिनअघि उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट गराउने दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

बम विस्फोट गराएको अभियोगमा पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र अर्का ताप्ली–१ ओख्लेका ३५ वर्षीय रितु विक रहेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले बताए ।

विक नेत्रविक्रम चन्द समूहका उदयपुर जिल्ला सदस्य र देवकोटा उक्त समूहका जिल्ला सल्लाहकार तथा जिल्लाकै लिम्चुङबुङ गाउँपालिकाको इन्चार्ज रहेको खुल्न आएको उदयपुर प्रहरीले बताएको छ ।

पाँच दिनअघि रातिको समयमा ताप्ली गाउँपालिकाको कार्यलयभित्र प्रमुख प्रशासकीय अधिकृत, कार्यकारी अधिकृत र उपाध्यक्षको कार्यकक्षमा अभियुक्तले दुईवटा सुतली बम राखेको प्रहरीले बताएको छ । बम विस्फोट गराउनेहरुको गोप्य सूचनाका आधारमा र प्रहरीको गहिरो अनुसन्धानपछि इलाका प्रहरी कार्यालय कटारीको टोलीले उनीहरुकै गाउँबाट दुई जनालाई पक्राउ गरी थप अनुुसन्धान शुरु गरिएको उदयपुर प्रहरी प्रमुख दाहालले बताए ।

बालिका यौन दुर्व्यवहार कसुरमा तीन महिना जेल

जिल्ला अदालत उदयपुरले १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा एक किशोरलाई बिहीबार तीन महिनाको जेल सजायसहित रु १० हजार जरिवाना गर्ने फैसला गरेको छ । बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना जेल सजाय पाउने कसुरदार किशोर जिल्लाकै लिम्चुङबुङ गाउँपालिका–२ ताम्लीछाका १८ वर्षीय अभिषेक खत्री रहेको जिल्ला अदालत उदयपुरका श्रेस्तेदार धनबहादुर कार्कीले बताए ।

खत्रीले गत वैशाख ३० गते स्थानीय १३ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेका थिए । पीडित बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएपछि खत्रीलाई जेठ ८ गते पक्राउ गरेर अनुसन्धान शुरु गरिएको थियो ।

थुनछेक बहसमा अदालतले खत्रीलाई धरौटीमा छाडेको अदालतले बताएको छ । बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले खत्रीलाई बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै तीन महिना जेल र रु १० हजार जरिवाना गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार कार्कीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७