पेन्सन बुझ्न सीमा नाका पुगेका नेपाली समस्यामा


१२ मंसिर २०७७, शुक्रबार
Jhulaghat

बैतडी, १२ मंसिर । पेन्सन बुझ्नका लागि भारतको झुलाघाट पुगेका नागरिक समस्यामा परेका छन् । एकै दिन धेरैजना पेन्सन बुझ्नका लागि भारत पुगेपछि व्यवस्थापनमै गाह्रो भएको उनीहरुले बताएका छन् ।

लामो समयदेखि पेन्सन बुझ्न नपाएका धेरै नागरिक एकैदिन जाँदा समस्या भएको बैतडीको डिलाशैनीका सुरेश श्रेष्ठले जानकारी दिए । कति जनालाई जान दिने भन्ने खालको व्यवस्था नहुँदा झुलाघाट पुगेका वृद्धवृद्धा समस्यामा परेका उनले बताए ।

पेन्सनधारी धेरैजसो झुलाघाटमा अलपत्र परेका छन् । खान बस्नको ठेगान छैन, व्यवस्थित हिसाबले नाकाबाट पठाउन नसक्दा समस्या भएको छ । उनले भने, ‘नाका खोलेर कति जनासम्म एक दिनमा पठाउने भन्ने व्यवस्था नहुँदा समस्या भएको छ । पेन्सनधारीलाई पारि खान र बस्नको समेत समस्या भएको छ ।’

पेन्सनधारी धेरै नागरिक झुलाघाट पुगेकाले आफूहरुलाई निकै समस्या भएको पाटन नगरपालिकाका ८२ वर्षीय बलदेव पन्तले बताए । उनले भने, ‘घण्टौँसम्म लाइनमा बस्दा पनि पालो नआउने समस्या छ ।’

पेन्सनधारीका लागि नाका खुले पनि नाकामा व्यवस्थित आवतजावत गर्न नसक्दा समस्या भएको भारतीय नागरिक शङ्कर खडायतले बताए । उनले भने, ‘पाँच दिनका लागि नाका खुलेको छ । धेरै मानिस एकै दिन आएका छन् । व्यवस्थित हिसाबले पठाउन नसक्दा समस्या भएको छ ।’

सीमावर्ती भारतीय बजार झुलाघाट र नेपाली बजार झुलाघाटमा पेन्सनधारीको भीड लागेको श्रेष्ठले बताए । उनले भने, ‘बैंकले समेत नेपालमा नचल्ने झुत्रा नोट पेन्सनधारीलाई दिएको छ ।’ पेन्सनधारीका समस्या समाधानका लागि सोमबारदेखि झुलाघाट नाका पाँच दिनका लागि खुलेको छ । नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खुलेको हो । नाका आजसम्म खुला रहनेछ ।

बैतडीमा एक हजार २०० भारतीय पेन्सनधारी नेपाली नागरिक छन् । उनीहरुले गएको चैतदेखि पेन्सन बुझ्न पाएका छैनन् । उनीहरुले भारतीय बैंकमार्फत आफ्नो पेन्सनवापतको रकम बुझ्ने गर्दछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७