संसद अधिवेशन चाँडै बोलाउनेबारे परामर्श भइरहेको छ : कानूमन्त्री तुम्बाहाङ्फे


१२ मंसिर २०७७, शुक्रबार
shivamaya 1

काठमाडौं, १२ मंसिर । कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संघीय संसदको नियमित अधिवेशन चाँडै शुरु गर्ने बेला आएको बताएकी छन् ।

शुक्रबार काठमाडौंमा आयोजित संघीय संसद र प्रदेशसभा सञ्चालनका लागि अनुभव आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कति गते बोलाउने भन्ने टुंगो नलागे पनि नियमित अधिवेशन शुरु हुने जानकारी दिइन् ।

अधिवेशन बोलाउने सन्दर्भमा प्रतिनिधि सभाका सभामुख सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग पनि छलफल भइरहेको उनले जानकारी दिइन् । उनले भनिन्, ‘हाम्रो नियमित अधिवेशन अन्त्य भएको धेरै समय वितिसक्यो । नियमित अधिवेशन प्रवेश गर्ने बेला भइसकेको छ । तसर्थ मैले अनौपचारिक रुपमा सभामुखलाई भनेको छु । कर्मचारी साथीहरुलाई पनि भनेको छु । यहाँको अवश्यक पूर्व तयारीको निम्ति यहाँले काम गर्नुहोला भनेको थिएँ । मैले अहिले भर्खरै राष्ट्रिय सभाको हल हेर्दा बनाउनु भएको छ तर फिनिसिङ गर्न बाँकी रहेछ । प्रतिनिधि सभाको सम्भवतः त्यसै गर्नुभएको होला ।’

मन्त्री तुम्बाहाङफेले थपिन्, ‘हामी नियमित अधिवेसनको निम्ति कति गते भन्ने कुरा टुंगो लागेको छैन तर नियमित अधिवेशन आव्हान हुन्छ । त्यसको लागि सम्माननीय सभामुख, सम्माननीय अध्यक्ष, उपाध्यक्ष त्यहाँका कर्मचारी साथीहरुले त्यतातर्फ पनि ध्यान दिनुभएको रहेछ काम गर्नुभएको रहेछ ।’

कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले विकासलाई आत्मसाथ गर्दै जानुपर्ने बेला आएको पनि बताइन् । परिवर्तन, विकास र चेतनालाई व्यवहारमा लागू गर्नुपर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्ने बेला आएको बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७