सात वर्षमा १४ हजार महिला बलात्कृत, ६ हजार तीन सय ६३ बालिका


१३ मंसिर २०७७, शनिबार
Rape for nayapage

काठमाडौं, १३ मंसिर । बलात्कारसम्बन्धी जघन्य अपराधका घटना हरेक वर्ष बढ्दै गइरहेका छन् ।

पछिल्ला सात वर्षमा १४ हजार सात सय ५४ महिला बलात्कारको सिकार भएका छन् । त्यसमध्ये ६ हजार तीन सय ६३ त १८ वर्षमुनिका बालिका छन् । महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७०–७१ मा एक हजार तीन सय ५६ महिला बलात्कारको सिकार भएका थिए ।

तर, आव ०७६–७७ सम्म आइपुग्दा यो संख्या दोब्बरभन्दा धेरैले बढेको छ । यो वर्ष दुई हजार आठ सय ३१ महिला बलात्कृत भएका थिए । चालू आवको असोजसम्म सात सय २२ महिला बलात्कृत भएको प्रहरीको तथ्यांक छ ।

हरेक वर्ष बलात्कृत हुने बालिकाको संख्या पनि डरलाग्दो गरी बढिरहेको छ । आव ०७०–७१ मा पाँच सय ५९ बालिका बलात्कारको सिकार भएका थिए । गत आवमा आइपुग्दा बलात्कृत बालिकाको संख्या एक हजार तीन सय ९३ पुगेको छ । त्यसमा पनि दुई सय ७३ बालिका त दश वर्षभन्दा कम उमेरका छन् । त्यस्तै, चालू आर्थिक वर्षको गत असोजसम्म भएका सात सय २२ घटनामा चार सय ६५ बालिका बलात्कारको सिकार भएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार आफन्त र छिमेकीबाटै धेरै बलात्कारका घटना भएका छन् । ‘चार वर्षका नाबालिकासम्म बलात्कारको सिकार भएका छन् ।

धेरैजसो घटना आफन्त र चिनजानकै व्यक्तिहरूबाट भएका छन्,’ उनले भने । शंकास्पद व्यक्तिबाट टाढा रहन र यस्ता घटनाबाट जोगिन प्रहरीले स्कुलहरूमा गएरै पढाउन समेत थालेको एसएसपी कुँवरले बताए । पछिल्लो समय हिंसा लुकाउनु हुँदैन भन्ने चेतना बढेकाले प्रहरीमा आउने उजुरी पनि बढेको उनको भनाइ छ ।

महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदनअनुसार आव ०७५–७६ मा देशभर दुई हजार सात सय ५३ महिला बलात्कारको सिकार भएका छन्, जसमध्ये एक हजार दुई सय ३२ बालिका छन् ।

त्यस्तै, आव ०७४–७५ मा पीडित बनेका एक हजार नौ सय आठ महिलामध्ये सात सय २३ र ०७३–७४ मा एक हजार नौ सय १४ पीडित महिलामध्ये सात सय नौ बालिका रहेको सरकारी तथ्यांक छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७