नेकपा सचिवालय बैठक आज : आफूमाथि प्रचण्डले लगाएका आरोपको ओलीले जवाफ दिंदै


१३ मंसिर २०७७, शनिबार
kp oli prachanda 3

काठमाडौं, १३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको वैठक आज (शनिबार) बालुवाटारमा बस्दैछ ।

दिउँसो १ बजे बोलाइएको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गर्ने तयारी छ । प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको १९ पृष्ठे प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्नो प्रस्ताव राख्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आधारभूतरुपमा प्रधानमन्त्री ओलीको जवाफ तयार भएको र त्यसले उनीमाथि लगाएका आरोपबारे स्पष्ट गर्ने बताएका छन् । ओलीले १० दिन लगाएर तयार गरेको प्रतिवेदनले पार्टीलाई विभाजनतिर लैजान समेत सक्ने भएकाले निकै चासोका हेरिएको छ ।

ओलीले प्रचण्डका राजनीतिक र व्यक्तिगत दुवै प्रश्नको उत्तर दिने तयारी गरिरहेको जानकारी दिंदै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘प्रस्ताव तयार छ, के–के विषय समेटिएका छन् भन्ने कुरा जान्न प्रतिक्षा गर्नैपर्छ ।’

प्रधानमन्त्री ओलीले आफ्नोतर्फबाट भने सचिवालयमा केही संयमित जवाफ दिने तयारी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । आफू निकटस्थ नेताहरूले तयार पारेको मस्यौदालाई उनले शुक्रबार साँझ अन्तिम रूप दिएका हुन् ।

‘अर्का अध्यक्ष दाहालका जे लाञ्छना र तथ्यहीन आरोपहरू छन्, तिनलाई स्पष्ट पार्ने गरी जवाफ आउँछ,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘उहाँले गालीगलौज, लाञ्छना र आरोपहरूलाई खारेज गरिसक्नुभएको छ, त्यसलाई लिखित रूपमै स्पष्टै पार्छु भन्नु भएको छ, जवाफ पनि त्यसैगरी आउनेछ ।’

आजको बैठकमा ओलीको प्रस्ताव पेस भएपछि त्यसमाथि अध्ययनका लागि एक–दुई दिनको समय लिने र अर्को बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गर्ने तयारी छ । नेताहरुकाअनुसार यससबीचमा संयुक्त प्रस्तावको लागि सहमति जुटाउने प्रयास हुनेछ । सहमति भएन भने दुवै प्रस्ताव स्थायी कमिटीमा प्रवेश गराउने प्रचण्ड–नेपाल समूहको तयारी छ । यसअघि बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथिका आरोप बदर हुनुपर्ने या त्यो सही नठहरिएमा आरोप लगाउनेले त्यसको जिम्मेवारी र जवाफदेहिता लिनुपर्ने तर्क गरेका थिए ।

अघिल्लो सचिवालय बैठकले स्थायी कमिटीको बैठक यही मंसिर १८ र केन्द्रीय कमिटीको बैठक मंसिर २५ गते बोलाउने निर्णय गरेकाले शीर्ष तहको विवाद सचिवालयमा मिल्न नसकेमा ती निकायका बैठकमा प्रवेश हुनेछन् । गएको भदौ २६ गतेको स्थायी कमिटीको बैठकले सहमतिका साथ शीर्ष नेताहरुको कार्यविभाजन गरी सरकार र पार्टीको कामलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आउँदो चैतको अन्तिम हप्ता पार्टीको एकता महाधिवेशन आयोजना तय गर्ने निर्णय गरेको थियो ।

पछिल्ला समय मन्त्रिपरिषद्मा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भएर नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न हुँदै आएको छ ।

गएको स्थायी कमिटीको बैठकमा अध्यक्ष ओली र अध्यक्ष दाहालबीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन परिमार्जनसहित प्रस्तुत र पारित भएको थियो । नेता माधवकुमार नेपालले विधि र पद्धतिका लागि आफूले उठाउँदै आएको ‘एक व्यक्ति ः एक पद’ को प्रस्ताव कार्यदलको प्रतिवेदनमा नपरेकामा असहमति जनाउँदै आएका छन् ।

स्थायी कमिटीले अध्यक्ष ओली सरकारको काममा केन्द्रीत हुने र अध्यक्ष दाहाल पार्टीको काममा केन्द्रीत भएर कार्यकारी अध्यक्षको भूमिकामा रहने कार्यविभाजनको प्रस्ताव पारित गरेको थियो । त्यही बैठकले आउँदो चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने तय गरेको थियो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा एकता भएर निर्मित नेकपाको एकतापछि पहिलो महाधिवेशन हुन लागेकाले नीति, विचार र नेतृत्वबारे बहस शुरु भएको हो ।

स्थायी कमिटीको निर्णय कार्यान्वयनका लागि गएको भदौ २९ गते अध्यक्षद्वय ओली र दाहालले अन्तरपार्टी निर्देशन जारी गरी पार्टी एकताको महत्वलाई आत्मसात् गर्ने, पार्टीमा पद्धति र संस्थागत प्रणालीलाई सबल बनाउने, एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा साङ्गठानिक क्षेत्रमा पुनः कार्यविभाजनलगायत काम गर्ने, चुनावी घोषणापत्रानुसार सरकारका कामलाई प्रभावकारी बनाउने, सहमति तथा संवैधानिक र कानुनी प्रवन्धका आधारमा सङ्घ र प्रदेश मन्त्रिपरिषद्मा पुनःगठन गर्नेलगायत विषय उल्लेख गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७