स्थानीय पाठ्यक्रम लागू गर्न दरबन्दी सिर्जना


१३ मंसिर २०७७, शनिबार
Teacher Nepal PhFLuVO2N4

काठमाडौं, १३ मंसिर । काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्नका लागि सबै सामुदायिक विद्यालयमा दरबन्दी नै सिर्जना गरी शिक्षक पठाउने भएको छ ।

यही शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भने पनि कारोना भाइरसका कारण पठनपाठन ठप्प हुँदा पाठ्यक्रम लागू हुन नसकेको हो । महानगरपालिकाका शिक्षा विभाग प्रमुख नमराज ढकालका अनुसार हाल महानगरमा सञ्चालित ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा आगामी शैक्षिक सत्रदेखि अनिवार्य रुपमा आधारभूत तहमा स्थानीय पाठ्क्रम लागू गरिनेछ ।

पठनपाठनका लागि पाठ्यसामग्री तयारी अवस्थामा रहेको छ । संस्थागत विद्यालयमा पाठ्यसामग्री पठाउने र सामुदायिक विद्यालयमा नयाँ दरबन्दी सिर्जना गरी शिक्षकसहित पठाउने तयारी महानगरपालिकाको छ ।

स्थानीयस्तरको भाषाका बारेमा जानकारी दिनका लागि कक्षा १ देखि ८ सम्म १०० पूर्णाङ्कको पाठ्यक्रम अनिवार्य लागू गर्न लागिएको हो । सो विषय पठनपाठन गर्नका लागि महानगरपालिकाको ५३औं कार्यपालिका बैठकले विद्यालयमा पठाइने शिक्षकलाई प्रशिक्षण दिने निर्णय समेत गरिसकेको छ ।

हाल महानगरपालिकाका सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । सामुदायिक विद्यालयमा एक हजार ७९१ शिक्षक कार्यरत छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७