प्रचण्डलाई ओलीको प्रश्न : नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नेछु, के तपाईं तयार हो ?


१३ मंसिर २०७७, शनिबार
oli and parchanda

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेस गरेका छन् । अर्का अध्यक्ष प्रचण्डले २८ कात्तिकको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको जवाफी प्रतिवेदन अध्यक्ष ओलीले पेस गरेका हुन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले ३८ पेज लामो जवाफी प्रतिवेदन पेस गरेका हुन् । ५३ बुँदा रहेको प्रतिवेदन प्रचण्डमाथि प्रहार केन्द्रीत छ । यसअघि प्रचण्डले १९ पेज लामो राजनीतिक प्रस्तावमा ओलीमाथि प्रहार केन्द्रीत गरेका थिए ।
प्रधानमन्त्री ओलीले पार्टी र सरकारको नेतृत्त आफू नयाँ पुस्तालाई हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।

उनले सोधेका छन्, ‘म आज खुल्ला आह्वान गर्न चाहन्छु– त्यागको यो सिलसिला आजै सुरु गरौँ ! बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरुले अब जिम्मेवारी नलिऔँ र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौँ १ म यही दस्ताबेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु ! के तपाईं तयार हो ?’

प्रतिवेदनमा प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई आफूमाथिको आरोप पुष्टि गर्नका लागि चुनौती दिएका छन् । भनेका छन्,‘तपाईँलाई मेरो चुनौती छ– कि आरोप पुष्टि गर्नुस् र राज्यको कानुन तथा पार्टी विधान अनुसार मलाई कार्बाही गर्नुस्, कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भङ्ग गर्ने धृष्टताको जवाफदेही बन्न तयार हुनुहोस् ।’

प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीति प्रस्तावलाई ‘अभियोगपत्र’ भनेका छन् । ओलीले भनेका छन्,‘तपाईंको यो ‘प्रस्ताव’ वस्तुतः कुनै राजनीतिक प्रस्ताव होइन, आफ्नै सहयोद्धा अध्यक्षमाथि लगाइएको ‘अभियोगपत्र’ हो र यसलाई अगाडि सारेर तपाईंले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७