ओलीलाई प्रचण्डको जवाफ : तपाईले चारपटक पार्टी फुटाउन खोज्नुभयो, हामीले रक्षा गर्दै आएका छौं


१३ मंसिर २०७७, शनिबार
Puspakamal Dahal Parchanda
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले चारपटक पार्टी फुटाउन खोजेको आरोप लगाएका छन् । ओलीले पार्टी फुटाउन खोज्दा पनि आफूहरुले पार्टी एकताको रक्षा गर्दै आएको प्रचण्डको दाबी छ ।

शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले ३८ पृष्ठको जवाफी प्रस्ताव पेश गरेपछि बोल्दै प्रचण्डले ओली एकता बिरोधी भएको बताएको प्रचण्डको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले जानकारी दिए । ती सचिवालय सदस्यका अनुसार प्रधानमन्त्री ओलीको एक घन्टा लामो मन्तव्यपछि छोटो सम्बोधन गरेका प्रचण्डले भने, ‘चारपटक तपाईले पार्टी फुटाउन खोज्नु भएको छ । तर, हामीले धैर्यपूर्वक पार्टी एकताको रक्षा गर्दै आएका छौं । अहिले पनि रक्षा गर्न दृढ छौं ।’

मदन भण्डारी फाउन्डेसनको गतिविधिलाई वडासम्म लैजान निर्देशन दिएर र फुटको निम्ति संगठनात्मक आधार तयार पार्ने काम ओलीले गरेको प्रचण्डको भनाई छ । पार्टी फुटाउन अध्यादेश ल्याएको, आफ्ना गुटका भेला गरेर आफूलाई एक्लाउने अभियान सुरु गरेको उनको भनाई छ ।

प्रचण्डले प्रधानमन्त्री ओलीमा अझै कमजोरी महसुस गरेर आत्मालोचनासहित पार्टीलाई अघि बढाउने भाव नदेखिएको बताए । ओलीको जवाफमा अफवाह, घमण्ड र अहङ्कार देखिएको प्रचण्डको भनाई छ । प्रचण्डले भनेका थिए, ‘मैले राखेको विषयवस्तुलाई आरोपपत्र भन्नुभयो । यहीँनेर तपाईंमा अहङ्कार देखियो । तपाईंको दम्भ, घमण्ड, अहङ्कारले नै समस्या निम्त्याइरहेको छ । फेरि पनि निम्त्याउने छ । तपाईं जसरी प्रस्तुत हुँदै हुनुहुन्छ, यो राम्रो बाटो होइन । बहुमत सचिवालय सदस्यको प्रस्ताव स्वीकारेर जानुको विकल्प छैन ।’

प्रचण्डले राजनीतिक प्रस्ताव र पत्र समेटेर बुकलेट किन प्रकाशित भयो भन्ने ओलीको पश्नको पनि उत्तर दिएका थिए । भनेका थिए, ‘छलफल बहसका लागि पार्टी बैठकको लागि सहमति जनाउनुस् भनेर पत्र लेखेकै भरमा आरोपसहितको प्रतिउत्तर लेखेपछि मैले पनि प्रत्युत्तर र प्रस्ताव लेख्ने ठाउँमा पुगेको हुँ । दोस्रो, अघिल्लो सचिवालय बैठकमा तपाईले बोलेको कुरा रेकर्ड गरेर बाहिर दिनुभएछ । तपाईले दिएको प्रतिउत्तर पनि बैठकभन्दा पहिला मिडियामा आयो । त्यो दिन तपाईले बोलेको कुरा टेप रेकर्ड उतारेर हुबहु मिडियामा गयो भनेपछि के बाँकी रह्यो ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७