शेयर बजारमा नयाँ ‘रेकर्ड’, नौं अर्ब २२ करोडको कारोबार


१४ मंसिर २०७७, आईतवार
nepal stock

काठमाडौं, १४ मंसिर । धितोपत्रको दोस्रो बजार (शेयर बजार) ले एकपछि अर्को कीतिमान बनाउँदै गएको छ ।

गत साता कारोबार रकम र बजार परिसूचक दुवैमा नयाँ रेकर्ड कायम गरेको नेप्सेले आइतबार पुनः उक्त रेकर्ड तोडेको छ । साताको पहिलो दिन बजार परिसूचक नेप्से करिब ४ प्रतिशतले वृद्धि हुँदा दुई हजार अंकको बिन्दुलाई पछ्याएको छ । गत बिहीबार ५३ महिनाअघिको रेकर्ड तोड्दै अघि बढेको नेप्सेले आज पुनः बिहीबारको रकर्ड तोडेको हो ।

प्रि ओपनिङ सेसनमा नै एक प्रतिशतले बढेको नेप्से आइतबार ७५.०२ अंकले बढेर १९६८.२७ अंकमा बन्द भएको छ । बजारमा करिब ५० प्रतिशत हिस्सा रहेको बैकिङ क्षेत्रले लिड गर्दा र विकास बैंकसँगै जीवन बिमा र हाइड्रोपावरले पनि साथ दिँदा नेप्से उच्च अंकले बढेको छ ।

आइतबार विकास बैंक समूहको सूचक सर्वाधिक ८.११ प्रतिशतले बढेको छ ।
त्यस्तै बजारलाई लिड गर्ने बैंकिङ सूचक पनि ७.८१ प्रतिशत (११२.३२ अंक) ले बढेको छ । यता बैंकिङ र विकास बैंकलाई साथ दिँदै जीवन बिमा समूहको सूचक २.२४ प्रतिशत र हाइड्रोपावर समूहको सूचक पनि १.८ प्रतिशतले बढेको छ । नेप्से उच्च अंकले वृद्धि हुँदा पनि व्यापार, होटल, निर्जीवन बिमा र उत्पादन समूहका सूचकमा भने करेक्सन देखिएको छ ।

२०७३ साउन १२ गते १८८१.४५ अंकमा पुगेको नेप्सेको ५३ महिना पुरानो रेकर्ड तोड्दै गत बिहीबार परिसूचक १८९३.२५ अंकमा बन्द भएको थियो । प्रि ओपनमा नै १ प्रतिशतले वृद्धि भएको नेप्से बजार खुलेसँगै लगातार उकालो लागेको थियो । तर साढे ११ बजेपछि नाफा बुक गर्नेका कारण बिक्री चाप बढ्दा केही घटे पनि नेप्सेले केही समयमा नै आफ्नो लय समात्यो ।

एक बजेपछि पुनः केही समय बिक्री चाप बढ्दा केही घटेको नेप्से करिब आधा घण्टामा नै बढ्न लाग्यो । त्यसपछि लगातार बढेको नेप्से अहिलेसम्मकै उच्च बिन्दुमा पुगेर आइतबारको कारोबार बन्द भयो । नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स र फ्लोट इन्डेक्स पनि बढेको छ । सेन्सिटिभ इन्डेक्स १८.७६ अंकले बढेर ३८३.९३ अंकमा पुगेको छ भने फ्लोट इन्डेक्स ६.२९ अंकले वृद्धि हुँदा १३४.८३ अंकमा पुगेको छ ।

बजार परिसूिचकसँगै कारोबार रकमले पनि एकपछि अर्को रेकर्ड राख्दै गएको छ । गत बिहीबार अहिलेसम्मकै उच्च ७ अर्ब ६१ करोडको कारोबार भएको नेप्सेमा कारोबार रकमले पनि आज नयाँ रेकर्ड कायम गरेको छ । आज कारोबार रकम ९ अर्ब नाघेको छ ।

आज नेप्सेमा ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ । ८० हजार २७१ वटा कारोबारमा २०० कम्पनीको २ करोड ५९ लाख ४५ हजार ३८० कित्ता सेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । सबैभन्दा धेरै संख्यामा सेयर किनेबच भने कुमारी बैंकको भएको छ । कुमारी बैंकको १३ लाख ८६ लजार कित्ता कारोबार हुँदा प्रभु बैंक, सिभिल बैंक र ग्लोबल आइएमई बैंकको धेरै सेयर किनबेच भएको छ ।

आइतबार नेप्सेमा सबैजसो वाणिज्य बैंक र विकास बैंकको सेयर मूल्य बढेको छ । ग्रीन डेभलमेन्ट बैंक, सेञ्चुरी कमर्सियल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आज नेप्सेमा २१ कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथिले वृद्धि हुँदा २१ वटै वाणिज्य र विकास बैंक रहेका छन् । यता विकास बजार कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाउँदा आँखु खोला जलविद्युत कम्पनीका लगानीकर्ताले पनि ९ प्रतिशत माथिले गुमाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७