सुटरलाई एक लाख ‘सुपारी’ दिएर बाबुले नै गराए आफ्नै १७ वर्षीया छोरीको हत्या

बाबु–आमासहित सात जना पक्राउ


१४ मंसिर २०७७, आईतवार

रौतहट, १४ मंसिर । रौतहटमा एक बाबुले एक लाखमा मान्छे लगाएर आफ्नै छोरीको हत्या गराएका छन् ।

माधवनारायण नगरपालिका–७, लौकाहाका रामअयोध्या साह तेली र उनकी श्रीमती सीतादेवीले आफ्नै छोरी १७ वर्षीया अमृता साहको हत्या गराएका हुन् । प्रेम सम्बन्धमा रहेकी अमृताले प्रेमीसँग भागेर विवाह गर्दा इज्जत जाने डरले उनीहरुले हत्या गराइएको रहस्य बाहिर आएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा आईतबार आयोजित पत्रकार सम्मेलनमा आरोपित आमा, बाबु र हत्यामा संलग्न अन्य ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मृतक किशोरीका आमा बुवाका अतिरिक्त देवाही गोनाही नगरपालिका–२ करुनिया लक्ष्मिनियाका ६० वर्षीय शेख अलियास, सोही ठाउँका ४० वर्षीय बहुदल भने ईस्लाम अन्सारी, ३५ वर्षीय शेख ईन्ताज, ५० वर्षीय कैमुल देवान र परोहा नगरपालिका–४ का ४५ वर्षीय छोटेलाल साह छन् । किशोरीका आमाबुबाले हत्याको योजना बनाएर अन्य पाँच आरोपितलाई हत्या बापत पैसाको प्रस्ताव गरेको र उनीहरुले पैसा लिएर ती किशोरीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार आरोपित सबैले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् । उनीहरुमाथि ज्यान सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट अनुसन्धानका लागि म्याद लिइएको र थप अनुसंधान भइरहेको एसपी शाहले जानकारी दिए ।
यसरी भयो हत्या
अमृता र उनका छिमेकी सोसिन्द्र भगतसँग पछिल्लो तीन वर्षदेखि प्रेम सम्बन्ध थियो । छोरीको प्रेमलाई इन्कार गर्र्दैै बाबुआमाले २०७६ असारमा सर्लाही, बिशुनपुर गाउँपालिका–३ का रुपेश साहसँग अमृताको जब्बरजस्ती विवाह गराए ।

केहीपछि उनको श्रीमान रुपेश साहमाथि धारिलो हतियारले आक्रमण भएको थियो । उक्त घटनामा रुपेशका परिवारले अमृता र उनको प्रेमी सोसिन्द्र भगतविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गराएका थिए ।

उक्त घटनापछि अमृता माईतीघर लौकाहामै बस्दै आएकी थिइन् भने गत असारमा श्रीमानसँग औपचारिक रुपमा उनको सम्बन्ध बिच्छेद भएको थियो । माइतीमै बसेकी छोरी अमृता कुनबेला प्रेमी सोसिन्द्रसँग भाग्छिन् र समाजमा हाम्रो इज्जत जान्छ भन्नेमा उनका बाबुआमा चिन्तित रहँदै आएका थिए ।

बराबरको चिन्ता र इज्जत जाने डरबाट बच्न छोरी अमृतालाई कुनै बहानामा भारतमा लैजाने र परोहाका छोटेलाल साहलाई एक लाख ५० हजार रुपैयाँ दिएर हत्या गराउने योजना रामअयोध्या दम्पत्तीले बनाए । उक्त योजनामा उनीहरुका ज्वाइँ देवाही गोनाही–२, करुनियाका लक्षुमण साहले पनि साथ दिए ।

योजना अनुसार अमृतालाई उपचार गराउने बहानामा सीमावर्ती भारतीय बजारमा केही महिना अघि लगिएको थियो तर त्यहाँ योजना सफल हुन सकेन र अमृता माईतीमै आएर बसिरहेकी थिइन् । यसैबीच बुवा रामअयोध्या साह र ज्वाइँ लक्षुमण साहले इज्जतका लागि भनेर देवाही गोनाही–२ करुनिया लक्ष्मिनियाका कैमुल देवानलाई अमृताको हत्या गर्न एकलाख रुपैयाँको सुपारी दिए ।

मुख्य योजनाकार कैमुलले अन्य अभियुक्तसँग मिलेर गत कार्तिक २६ गते राति आमासँग आफ्नै घरमै सुतिरहेकी अमृतालाई आमा उठेर शौचालय गएको अवसर पारेर कञ्चटमा गोली हानी हत्या गरेका थिए । घटनापछि मृतकका श्रीमान, प्रेमी र परिवारका सदस्यहरुमाथि अनुसन्धान गर्दै जाँदा अपराधी पक्राउ तथा हत्याको योजना बाहिर आएको एसपी सिद्धिविक्रम शाहले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७